Dhulikhel Eco Banner new

५ महिनामा ६ खर्बको व्यापार घाटा

4.99K
shares

काठमाडौं, ७ पुस । नेपालले चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा करिब ६ खर्बको व्यापार घाटा व्यहोरेको छ । पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख पुगेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा गत आर्थिक वर्षको पाँच महिनाको अवधिको तुलनामा १८.७७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ रहेको थियो । विभागको तथ्यांक अनुसार ५ महिनामा नेपालले ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाखको बस्तु आयात गरेको छ भने यो अवधिमा नेपालले ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

त्यस्तै गत आर्थिक वर्षको मंसिर मसान्तसम्म ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । त्यस्तै गत वर्ष नेपालले मंसिर मसान्तसम्म नेपालले १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । वस्तु आयातको तथ्यांक गत वर्षको तुलनामा २०.७१ प्रतिशतले घटेको देखिएको भने निर्यात पनि ३४.६१ प्रतिशतले घटेको छ ।