Dhulikhel Eco Banner new

चालु पुँजी कर्जा मार्गदशर्नमा राष्ट्र बैंक लचिलो बन्ने संकेत

5.62K
shares

काठमाडों, २० पुस । नयाँ सरकार निर्माण भएसँगै नेपाल राष्ट्र बैंक चालु पुँजी कर्जामा केही लचिलो बन्ने संकेत देखिएको छ । अघिल्लो सरकारका मन्त्री र राष्ट्र बैंकका गभर्नर बीचको पानीबाराबारको अवस्थामा नयाँ अर्थमन्त्रीको आगमनसँगै सुधार हुने संकेत देखिएको हो ।

चालू पुँजी कर्जाका विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि केही लचिलो देखिएका छन् । पछिल्लो समय व्यवसायीसँगको भेटमा गभर्नर अधिकारीले केही लचिलो बन्ने सकेत गरिरहेका छन् । नयाँ सरकार आएसँगै व्यवसायीहरुले पनि आन्दोलनका कार्यक्रम स्थगन गरेर छलफल गरिरहेका छन् । व्यवसायीहरुले चालू पुँजी कर्जालाई हालका लागि स्थगित गर्नु पर्ने माग राखिरहेका छन् ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग गभर्नर अधिकारीको सम्बन्ध राम्रो थिएन् । दुई निकाय बीचको सम्बन्धका कारण व्यवसायी मारमा परेका थिए । हाल अर्थमन्त्री रुपमा विष्णुप्रसाद पौडेल आएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने बताउँदै आएका छन् । उनले व्यवसायीलाई वार्तामा आउन र आन्दोलनका कार्यक्रम रोक्नका लागि आग्रह गरेका थिए । सोही अनुसार व्यवसायीहरुले अहिलेका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग बमोजिम गभर्नर अधिकारीलाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई के कसरी सहजीकरण गर्न सकिन्छ त्यसै अनुरुप गर्न अनुरोध गरेका थिए । त्यस पछि गभर्नर अधिकारीले सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग छुट्टाछुट्टै भेट गरेका थिए । यस्तै मंगलबार नै राष्ट्र बैंकका पदाधिकारीहरुले नेपाल बैकर्स एसोसिएसनका पदाधिकारीसँग पनि छुट्टै भेटघाट गरेका छन् ।