बैंकको शेयर कारोबारबाट हुने आयमा साढे ३१ प्रतिशतको गिरावट, ३ बैंकको आय बढ्दा १९ बैंकको घट्यो
वि.सं.२०७९ माघ १७ मंगलवार १०:४२
shares
फाइल तस्विर
काठमाडौं, १७ माघ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकहरुको शेयर कारोबारबाट हुनु आयमा गिरावट आएको छ । गत वर्षको ६ महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुको शेयर कारोबारबाट हुने आयमा ३१.५९ प्रतिशतले गिरावट आएको हो ।
बैंकहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा शेयर कारोबारबाट हुने आम्दानी २ अर्ब ९९ करोठ ५४ लाख ४० हजार रुपैयाँ रहेको छ । यस्तो आम्दानी गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ अर्ब ३७ करोड ९१ लाख ३७ हजार रहको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा शेयर बजारमा निकै उताव चडावमा देखियो । जसको प्रभाव बैंकको शेयर कारोबारबाट हुने आयमा परेको छ ।
चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते बजार २०११ दशमलव ३९ बिन्दुमा रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा शेयर बजार निकै बढ्यो । यो अवधिमा शेयर बजार १३७.९९ अंकले बढ्यो । पुस मसान्तसम्म शेयर बजार परिसूचक २१४९ दशमलव ३९ अंकमा पुगेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३ वटा बैंकको मात्रै शेयर कारोबारबाट हुने आयमा वृद्धि भएको छ । बाँकी बैंकको आयमा गिरावट आएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकको शेयर कारोबारबाट हुने आयमा वृद्धि भएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १९ करोड ७८ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमो यो बैंकले ३ करोड ५२ लाख ४९ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । त्यस्तै माछापुच्छ्रे बैंकले शेयर बजारमा गरेको लगानीबाट १७ करोड २९ लाख ६५ हजार आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.९६ प्रतिशतले बढी हो । यस्तै नेपाल एसबीआई बैंकले १६ करोड ४२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४१.७६ प्रतिशतले बढी हो ।
पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार १९ वटा बैंकको शेयर कारोबारबाट हुने आयमा गिरावट आएको छ । शेयर कारोबारबाट हुने आम्दानीमा सबैभन्दा बढी गिरावट नेपाल बैंकको भएको छ । नेपाल बैंकको यस्तो आय ८४.३२ प्रतिशतले घटेको छ । त्यस्तै यो अवधिमा सिभिल बैंकको आम्दानी ६६.८९ प्रतिशतले घटेको छ । त्यस्तै एभरेष्ट बैंकको ६१.५८, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५२.८४, सनराइज बैंकको ५२.१५, सिद्धार्थ बैंकको ५०.९३, एनआईसी एशिया बैंकको ५०.२५, सिटिजन्स बैंकको ४७.७०, कृषि विकास बैंकको ४५.९६ र लक्ष्मी बैंकको ४६.११ प्रतिशतले घटेको छ ।
त्यस्तै हिमालयन बैंकको ३३.७७, ग्लोबल आइएमई बैंकको ३३.२४, कुमारी बैंकको ३१.२४, एनएमबि बैंकको ३०.१२, प्रभु बैंकको २६.७१, स्टयान्डर्ड चार्टर्ड बैंकको २३.२८, नबिल बैंकको २३.२४, प्राइम बैंकको २२.५१ र सानिमा बैंकको ७.६९ ले घटेको छ । राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत शेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । बैंकहरुले सो सुविधामार्फत शेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्छ ।



















