Dhulikhel Eco Banner new

निजामती ऐनमा सकारात्मक वातावरण निर्माण गर्न मन्त्री मोदीको निर्देशन

5.28K
shares

काठमाडौं, ४ फागुन । संघीय मामिला तथा सामान्य मन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखहरुसँग छलफल गरेका छन् । मन्त्री मोदीले विहीबार मन्त्रालयमा छलफल गरेका हुन् ।

छलफलमा क्रममा प्रशासन महाशाखामा प्रमुखहरुले निजामती ऐनमा छड्के प्रवेश, श्रेणीगत वा तहगत व्यवस्था, आरक्षण लगायतका सन्दर्भमा राय व्यक्त गरेका थिए । सेवामा रहेका निजामती कर्मचारीहरुलाई अन्यायमा पर्नेगरी ऐन नल्याउन महाशाखाका प्रमुखहरुले सुझाव दिएका थिए ।

छलफलका क्रममा सुझावसहित विज्ञका रुपमा प्रस्तुती राखेका त्रिभुवन विश्वविद्याय जनप्रशासन क्याम्पसका सह प्राध्यापक डा. नरेन्द्रराज पौडेलले कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी देखिएको बताए । ‘नेपालमा नैतिकताको धरातल निकै कमजोर छ, कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी नै छ,’ उनले भने, ‘कर्मचारीलाई कसरी नैतिकताको कसीमा बाँध्ने हो, अन्तर्राष्ट्रिय अभ्यास समेत हेरेर ऐनमा केही व्यवस्था राखौँ ।’

छलफलमा मन्त्रालयका सचिव कृष्णहरी पुस्करले प्राप्त सकारात्मक सुझावहरुलाई मन्त्रालयले ग्रहण गर्ने बताए । मन्त्री मोदीले भावी पुस्ताको भविष्यसँग मुलुक र जनताको हितलाई केन्द्रमा राखेर ऐन ल्याउने तयारी भइरहेको समेत बताए । देश र जनतालाई सम्झेर सुझाव दिन मन्त्री मोदीले छलफलका सहभागीहरुलाई आग्रह गरे ।

ऐनको विषयमा बाहिर सकारात्मक माहौल बनाउन भूमिका निर्वाह गर्न समेत मन्त्री मोदीले सबैलाई निर्देशन दिए ।‘तपाईहरु यो समाजको अब्बल र बौद्धिक मान्छे हुनुहुन्छ, ऐनको सन्दर्भमा बाहिर सकारात्मक वातावरण निर्माण गर्ने दायित्व तपाईहरुको पनि हो, तपाईहरुबाट म यो भूमिकाको अपेक्षा गर्न चाहन्छु,’ मन्त्री मोदीले भने ।