मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०७९ फागुन १० बुधवार ०९:३३
shares

काठमाडौं, १० फागुन । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गते देखि बिक्री खुल्ला गरेको आईपीओमा बुधबार साँझ पाँच बजेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक राजगारीमा गएकाहरुलाई शेयर बाँडफाँट गरेपछि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले सार्वजनिक निष्काशनका लागि जारी पुँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकिएको छ । २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।















