के हुन सहकारीका समस्या, कसरी गर्न सकिन्छ समाधान ?
वि.सं.२०७९ फागुन १५ सोमवार ०९:००
shares

काठमाडौं, १४ फागुन । पछिल्लो समय सहकारी आफ्नो मुल मर्मभन्दा बाहिर गएका कारण समस्या देखिएको सरोकारवालाहरुले बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले आयोजना गरेको ‘सहकारीको संकट : कारण र समाधान’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाले सहकारीले आफ्नो मुलमर्म अनुसार काम नगर्दा समस्या आएको बताएका हुन् । लक्ष्यभन्दा बाहिर गएर काम गरेका कारण सहकारीहरु समस्यामा परेको कार्यक्रममा सहभागिहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले केही सहकारीको गल्तीका कारण सबै सहकारीलाई बदनाम गरिएको धारणा व्यक्त गरे । शहरका केही सहकारीले बदमासि गर्दा सबैलाई एउटै बास्केटमा राखियो ।
गाउँगाउँमा भने सहकारीले निकै सहज बनाएका छन्,’ मन्त्री राईले भने । सहकारीलाई नियन्त्रण र नियमन गर्नका लागि राज्यले काम गर्नु पर्ने भए पनि सबै सहकारी गलत हुन भन्ने प्रचार हुनु दुःखत भएको उनको भनाइ थियो । ‘गल्ती गर्नेलाई कारबाही गर्नु पर्ने र राम्रो गर्नेहरुको विषयमा पनि सकारात्मक प्रचार हुन जरुरी रहेको छ,’ उनले भने ।
सहकारीमा केही लोभी पापीहरु भएकाले सबैलाई समस्या भएको भन्दै गलत गर्नेहरुलाई कारबाहिको दायरामा ल्याउनु पर्ने मन्त्री राईको भनाइ थियो । कुनै पनि क्षेत्रको समस्या समाधानका लागि गोष्ठी र अन्तरक्रिया हुने र त्यसबाट उठेका विषहरु त्यस पछि भने कुनै पनि बहस नभएको उनले बताए । कार्यक्रमबाट आएका सुझावहरु कार्यान्वयन नभएको विषयमा पनि आवाज उठ्नु पर्ने आवश्यकता रहेको उनको तर्क छ ।
त्यस्तै कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव डा. दामोदर रेग्मीले पनि सहकारीले मर्म अनुसार काम नगरेकै कारण समस्या आएको बताए । ‘सहकारीहरुले आफ्नो मर्म विर्सेको जस्तो देखियो । सहकारीले पनि बैंकको जस्तै काम गर्न खोजेकाले समस्या आयो,’ उनले भने । सहकारीका सञ्चालकहरुले सहकारीबाट आफूखुसी ऋण लिएका कारण पनि अहिलेको अवस्था आएको उनको भनाइ छ ।
मन्त्रालय सहकारीका बचतकर्ताका बचतको सुरक्षण गर्नका लागि तयार रहेको बताएका उनले अहिलेसम्म ५० करोड रुपैयाँ फिर्ता गरिसकिएको बाँकी रकम पनि विस्तारै फिर्ता गर्ने क्रममा रहेको सचिव रेग्मीले जानकारी दिए ।
त्यस्तै नेपाल राष्ट्र बैंकका सञ्चालक डा.चिन्तामणि शिवाकोटीले सहकारीमा देखिएका समस्या समाधानका लागि नियम कानुनकै अभाव रहेको बताए । नियम कानुन अभावका कारण राष्ट्र बैंकले सहकारीलाई नियमन गर्न नसकेको बताएका शिवाकोटीले त्यसका लागि आवश्यक कानुन निर्माण गर्नु पर्ने धारणा व्यक्त गरे ।
राष्ट्र बैंकलाई नियम बनाएर नियमन गर्ने जिम्मा दिएको खण्डमा नियमन गर्नका लागि तयार रहेको उनको भनाइ छ । कानुनी अभावका कारण तत्कालै नियमन गर्नका लागि भने सम्भव नभएको उनले बताए ।
कानुन बनाएको खण्डमा सहज रुपमा नियमन गरेर समस्या समाधान गर्न सकिने शिवाकोटीको भनाइ छ । ‘सहकारीको नियमन गर्ने भनेर अनुसन्धान गर्ने, अध्ययन गर्ने र प्रतिवेदन बुझाउने कामका लागि मात्र राष्ट्र बैंकले नियमनको जिम्मेवारी लिँदैन,’ उनले भने, ‘ऐन नै संशोधन गरेर कारबाही गर्ने जिम्मेवारी दिने हो भने नियमन गर्न समस्या छैन ।’
यता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएको विकृतिलाई समाधान गर्नु पर्ने धारणा व्यक्त गरे । समस्या समाधानका लागि नियम कानुन बनाएर सबै मिलेर काम गर्नु पर्ने उनको भनाइ थियो । अहिले सहकारीहरुले आवश्यक कोषको व्यवस्था नगरेका कारण पनि समस्या आएको उनको तर्क छ ।
सबैसँग छलफल गरेर समस्या समाधानका लागि लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको पैसा कम्पनी र कम्पनीको पैसा सहकारीमा जाने कार्यलाई रोक्नु पर्ने बताए । ‘कुनै न कुनै कम्पनीको लगानी सहकारीमा रहेको छ र सहकारीको पैसा पनि कम्पनीमा लगानी रहको छ । यसलाई रोक्न सकेको खण्डमा मात्रै पनि समस्या धेरै हदसम्म समाधान हुन्छ,’ उनले भने ।
सरकारले सहकारीका बचतकर्ताहरुलाई लाइसेन्स लिएका सहकारीहरुमा रहेको रकम सुरक्षित हुन्छ भनेर आश्वस्त पार्नु पर्ने उनको भनाइ थियो । ‘यो कार्य राज्यको हो र राज्यले नै त्यसमा अग्रसर्ता लिएर बचतकर्ताका बचत सुरक्षि छ भन्ने आवाश दिलाउनु पर्छ,’ उनले भने ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारीलाई राष्ट्र बैंकको दायरामा ल्याउनु गलत भएको बताएका छन् । राष्ट्र बैंकले अनुगमन गर्न उसको क्षमताले नपुग्ने भन्दै उनले सहकारी नियमनका लागि राष्ट्र बैंकको पूरै जनशक्ति लाग्नु पर्ने उनको भनाइ थियो । सहकारीलाई नियमनसँगै कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण तत्काल आवश्यक रहेको उनको भनाइ थियो ।
ऐन नियम बनाएर व्यथितिलाई समाधान गर्ने सकिने र त्यसका लागि सरकारले ध्यान दिनु पर्ने उनका भनाइ थियो । सहकारीकालाई वस्तुगत क्याप लगाउने कुरा अन्तराष्ट्रिय क्षेत्रमा नरहेको भन्दै यस्तो कार्यलाई पनि रोक्नु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री कुमार गुरागाईले अहिले सहकारीहरु कमजोर भएकाले सबैले प्रहार गरिरहेको आरोप लगाएका छन् । ‘ओरोलो लागेको मृगलाई बाच्छोले पनि लखेड्छ भने जस्तै सहकारीहरुलाई पनि अहिले सबैले त्यस्तै व्यवहार गरिरहेका छन्,’ उनले भने ।
कुनै पनि घटना हुँदा त्यसको प्रभाव कमजोर पक्षमा बढी पर्ने भएकाले अहिले कमजोर रहेको सहकारी क्षेत्रलाई बढी प्रभाव परेको उनको तर्क थियो । ‘कोभिडको समयमा स्वास्थ्यमा समस्या भएकाहरुलाई बढी प्रभाव परेको जस्तै अहिले आर्थिक मन्दीले सहकारीलाई बढी मार पारहेको छ,’ उनले भने ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव गोपिनाथ मैनालीले पनि सिद्धान्तभन्दा बाहिर गएकाले समस्या भएको धारणा व्यक्त गरे । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मैनालीले साना र ठूला संस्था बीच एकीकरण हुँदा पनि समस्या आएको बताए । सहकारीले लगानी नै आफ्नो क्षेत्रभन्दा बाहिर गरेकाले पनि अहिलेको अवस्था आएको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागिहरुले सहकारीका विषयमा नकारात्मक प्रचार मात्रै भएको आरोप लगाएका थिए । एकै पटक धेरै बचतकर्ता आएको खण्डमा बैंकले पनि रकम दिन नसक्ने भन्दै सहकारीमा पनि एकै पटक धेरै बचतकर्ता रकम निकाल्न आएकाले समस्या भएको उनीहरुको भनाइ थियो ।
सहकारीहरुले आफ्नो सम्पति बिक्री गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको उनीहरुले बताए । यसका लागि केही समय आवश्यक पर्ने उनकोहरुको माग थियो ।



















