Dhulikhel Eco Banner new

छक्कापञ्जा–४ प्रति सहकारी अभियान्ताको आपत्ति, डायलग नै हटाउन माग

17.16K
shares

काठमाडौं, २८ फागुन । फागुन १९ गतेदेखि प्रदर्शन भइरहेको चलचित्र छक्कापञ्जा ४ प्रति सहकारी सञ्चालकहरुले आपत्ति जनाएका छन् । फिल्ममा सहकारी संस्थाहरुलाई हेप्ने गरी डायलग राखिएको भन्दै सहकारी सञ्चालकहरुले आपत्ति जनाएका हुन् ।

सहकारी सञ्चालकहरुले सहकारीको बद्नाम हुने गरी प्रयोग गरिएको डायलग हटाउन समेत माग गरेका छन् । सहकारी बचाउ अभियानले केही दिन अघि काठमाडौंको बुद्धनगरमा एक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्ने वक्ताले छक्कापञ्जा ४ को कडा रुपमा विरोध गरे ।

यसरी चर्को विरोध गर्नेमा सहकारी सञ्चालक समेत रहेका सिते बा नामले परिचित कलाकार मधुसुदन पाठक थिए । उनले दिपकराज गिरी जत्तिको मान्छेले बनाएको फिल्ममा सहकारी संस्थाहरुप्रति अपमानित हुने डायलग राखिनु दुखद् भएको बताएका छन् ।

दिपकराज गिरीले बन्द कोठामा रहेकी गर्लफ्रेण्डसँग सहकारीलाई तुलना गरेको भन्दै उनले आपत्ति जनाए । बिना अध्ययन यसरी प्रयोग हुने डायलगले गिरीलाई नै नोक्सान पुग्ने उनको भनाइ छ ।

के भनेका थिए दिपकराजले फिल्ममा ?

चलचित्र छक्कापञ्जामा दिपकराज गिरी एक विवाहित पुरुष हुन् । उनको लक्का जवान छोरा समेत छन् । तर, दिपक भने परस्त्रीमा रमाउन बानि परेका व्यक्तिको रुपमा फिल्ममा देखाइएको छ ।

दिपकराज गिरी कुनै बन्द कोठाभित्र एक परस्त्रीसँग (गर्लफ्रेण्ड)सँग बेडमा हुन्छन् । त्यतिबेलै दिपकका छोराले फोन गरेर ममीको बर्थडे भएको भन्दै चाडो घर आउन सम्झाउछन् । फिल्ममा मिटरब्याजीको रुपमा समेत देखाइएका दिपकराज गिरी बेडबाट उठेर घर जान लाग्छन् । त्यो देखेर गर्लफ्रेण्डले श्रीमतीसँग त खुबै डराउनु हुदो रहेछ नि भन्छिन् ।

जवाफमा दिपक भन्छन्, ‘श्रीमती भनेको त बैंकको ऋण हो, मेनटेन गरेन भने घरबार लिलाम हुन्छ ।’

ति स्त्रीले पुनः सोध्छिन्, अनि म चाहिँ के नि ?
दिपकले भन्छन्, – सहकारी, भाग्न पनि सक्छ ।

सहकारी संस्थाहरु भाग्न सक्ने भन्दै डायलग प्रयोग गरिएको भन्दै सहकारी सञ्चालकहरुले आपत्ति जनाएक हुन् ।