Dhulikhel Eco Banner new

व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व घट्यो

5.01K
shares

काठमाडौं, ६ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५९ दशमलव ०२ प्रतिशत हो ।

विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म रू १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएको थियो । सो अवधिमा रू ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबरको मात्र राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा रू ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

फागुनमा मात्रै रू दुई अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै सङ्कलन भएको कार्यालयको भनाइ छ । फागुनमा सङ्कलन भएको राजस्व लक्ष्य ६३ दशमलव २३ प्रतिशत हो ।

समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व ‘मूल्य अभिवृद्धिकर’ शीर्षकमा उठाएको छ । उक्त शीर्षकमा कार्यालयले रू पाँच अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ । साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा रू चार अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा रू एक अर्ब १९ करोड २५ लाख ५७ हजार सङ्कलन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व सङ्कलनमा कमी आएको बताउँछन् । उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो ।