Dhulikhel Eco Banner new

उमेशलालले भने– उमेरले पाको अनि हेर्दा जवान नै छु, सबैको सहयोगले चुनाव जित्छु

सरकारले चाहे अहिले पनि ब्याजदर घट्छ, तर व्यवसायीको मतलव नै गर्दैन : उमेशलाल श्रेष्ठ

5.06K
shares

काठमाडौं, ११ चैत । नेपाल उद्योग वाणिज्य महासंघको सुदुरप्रदेश समितिको सभारणसभामा सहभागी हुन निजी क्षेत्रका उद्योगी व्यवसायीहरु शनिबार सुदुरपपश्चिम प्रदेश पुगे । कार्यक्रममा महासंघको वरिष्ठ उपाध्यक्षका आकांक्षीहरु तीनै जना सहभागी थिए । आकांक्षीहरु मध्ये पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघलाई थप वलियो बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताए ।

त्यतिमात्रै होइन उनले निकै रमाइलो भाषण समेत गरे । उनले आफूलाई सबैले सहयोग गर्नेमा ढुक्क रहेको मात्रै बताएनन् आफूसँगै प्रतिष्पर्धा गर्ने सोच बनाएका अञ्जन श्रेष्ठ र रामचन्द्र संघईलाई आफू पछि नेतृत्व हाक्न सुझाव दिदै सहयोग गर्न अनुरोध समेत गरे । चार जना आकांक्षीहरु मध्ये एकजनालाई मिलाई सकेको भन्दै उनले भने, ‘बाँकी २ जना पनि एउटा एउटा कुनामा अर्को अर्को कुनामा बसिरहनु भएको छ, यस्तो विषय परिस्थितिमा पाको मान्छे रोज्नुस् ।’

अञ्जन र संघई पनि राम्रो मान्छे भएको भन्दै उनले यस्तो विषय परिस्थितिमा आफूलाई सपोर्ट गर्न आग्रहगरे । उनले उमेरमा पाको भए पनि आफू हेर्दा जवान नै भएको बताएका थिए । आफू काम गर्ने कुरामा जवान रहेको भन्दा केहीबेर हल हासोले गुञ्जयमान बनेको थियो ।

‘उहाँहरु दुबैजना मेरो भाइहरु हुनुहुन्छ, विद्वान हुनुहुन्छ उहाँहरुले लिड गर्ने अवसर फेरि पनि पाउनु हुन्छ’ उमेशलाल श्रेष्ठले भने ।

कार्यक्रममा उनले सरकारले निजी क्षेत्रका लागि उचित सम्मान नगरेको बताएका छन् । महासंघको सुदुरपश्चिम प्रदेश समितिको छैठौँ साधारणसभामा बोल्दै श्रेष्ठले व्यवसायीले तिरेको करका कारण राज्यले चलेको भन्दै निजी क्षेत्रलाई उचित सम्मान हुनुपर्ने बताएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि आकांक्षी समेत रहेका श्रेष्ठले उद्योगी व्यापारीले कमाएको नाफाबाट २५ प्रतिशत कर सरकारले लिने भएपनि व्यवसायीहरुलाई राज्यले रैतिको जस्तो व्यबहार गरेको बताए । देशमा भएका कानूनहरु पनि समायानुकुल परिमार्जन नभएको उनको भनाइ छ । ‘राजा महेन्द्रको पालामा भएको कालोबजारी कानून अहिलेसम्म पनि छ’ श्रेष्ठले भने, ‘त्यतिबेला महेन्द्य्रले बनाउदा ठिकै थियो होला, तर अहिले त फरक परिस्थिति छ, कानून त समयअनुकुल हुनुपर्यो नि ।’

श्रेष्ठले सरकार र राष्ट्र बैंकले चाहेको अवस्थामा बैंकको ब्याजदर तत्कालै घट्न सक्ने समेत बताए । तर राज्यले व्यवसायीका समस्याहरुलाई गम्भीर रुपमा नलिएको उनको गुनासो छ । कार्यक्रममा बोल्दै उनले आफू महासंघको नेतृत्वमा पुग्न चाहेको भन्दै सबैले सहयोग गर्नेमा आफू ढुक्क रहेको समेत बताए ।

मोही माग्ने, ढुंग्रो लुकाउने बानि आफ्नो नभएको भन्दै श्रेष्ठले आफू निजी क्षेत्रको हकहितका लागि सक्रिय भूमिका खेल्ने बताए । नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र महिला आन्दोलनमा छुट्टै पहिचान बनाएकी बामपन्थी महिलानेतृ सहाना प्रधानका छोरा समेत रहेका उनले आफू राजनीतिमा होइन व्यवसायिका हकहितका लागि लागि पर्ने बताए ।

राजनीतिक घरनामा आफू जन्मिए पनि व्यवसायमा रमाइरहेको भन्दै उनले व्यवसायिकै हकहितका लागि आफूले सक्रिय भुमिका खेल्ने बताएका छन् । महासंघको पूर्व वस्तुगत उपाध्यक्ष रहेका उमेशलाल आगामी चैत अन्तिम साता हुने महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षमा उठ्दैछन् । उमेशलाललाई पूर्व अध्यक्ष चण्डिराज ढकालदेखि आगामी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अहिलेका बहालवाला उपाध्यक्ष दिनेश श्रेष्ठ समेतको समर्थन छ ।