Dhulikhel Eco Banner new

जीवन बीमा कम्पनीको व्यवसाय ९३ अर्ब बढी

6.24K
shares

काठमाडौं, १५ चैत । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा जीवन बीमा कम्पनीले ९३ अर्बभन्दा बढीको व्यवसाय गरेका छन् । जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्म ९३ अर्ब ७५ करोड बराबरको बीमा शूल्क संकलन गरेका हुन् ।

यो गत वर्षको सोही अवधिको तुलनामा १.६८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९२ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । यो अवधिमा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट १८ अर्ब ५५ करोड र नवीकरणीय बीमाशुल्कबाट ७५ अर्ब २० करोड रुपैयाँ गरी संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ वटा रहेको छ ।

चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शूल्क संकलन गरेको छ । यो अवधिमा नेपाल लाइफले २४ अर्ब ३७ करोड रुपैयाँको बीमा शूल्क संकलन गरेको छ । यो समग्र बीम शूल्कमध्येको २६ प्रतिशत हो । त्यस्तै ८ महिनाको अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआइसीले ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ व्यवसाय गरेको छ । नेशनल लाइफले १० अर्ब २२ करोड १९ लाख रुपैयाँको बीमा शूल्क संकलन गर्दा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै सूर्यज्योति लाइफले ५ अर्ब ५१ करोड, यूनियन लाइफले ५ अर्ब १७ करोड, एशियन लाइफले ४ अर्ब ५९ करोड, सिटिजन लाइफले ३ अर्ब ५७ करोड, मेट लाइफले ३ अर्ब ३९ करोड र प्राइम लाइफले २ अर्ब ९६ करोड रुपैयाँको व्यवसाय गरेका छन् । त्यस्तै आइएमई लाइफले २ अर्ब ६२ करोड, सन नेपाल लाइफले २ अर्ब ५८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड, रिलायन्स लाइफले २ अर्ब ७ करोड, गुराँस लाइफले १ अर्ब ९८ करोड, सानिमा लाइफले १ अर्ब ६५ करोड, प्रभु लाइफले १ अर्ब ४० करोड र महालक्ष्मी लाइफले १ अर्ब १ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

गत आवको सोही अवधिको तुलनामा १८ वटा जीवन बीमा कम्पनीमध्ये ७ वटा व्यवसाय भने घटेको छ भने ११ वटाको व्यवसाय बढेको छ । यस अवधिमा सबैभन्दा धेरै व्यवसाय प्राइम लाइफ इन्स्योरेन्सको घटेको छ । गत आवको तुलनामा प्राइमको व्यवसाय १३.४८ प्रतिशतले घटेको हो । यस्तै, रिलायबल नेपाल लाइफको व्यवसाय ११.६८ प्रतिशत, मेट लाइफको ७.२३ प्रतिशत, सन नेपाल लाइफको ५.०८ प्रतिशत, गुराँस लाइफको ४.७७ प्रतिशत, सूर्यज्योति लाइफको ०.९४ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांक छ ।

व्यवसाय बढाउनेमा आइएमी लाइफ इन्स्योरेन्सको २२.३३ प्रतिशतले व्यवसाय बढेको छ । यस्तै, नेशनल लाइफको व्यवसाय १३.४० प्रतिशत, रिलायन्सको ११.२६ प्रतिशत, महालक्ष्मी लाइफको ९.०६ प्रतिशत, सानिमा लाइफको ७.९७ प्रतिशत र प्रभु लाइफको ५.७३ प्रतिशतले बढेको छ । यस्तै, एलआइसीको व्यवसाय ३.४२ प्रतिशत, सिटिजन लाइफको २.६१ प्रतिशत, नेपाल लाइफको १.८७ प्रतिशत र एशियन लाइफको १.०४ प्रतिशतले बढेको छ ।