Dhulikhel Eco Banner new

जनताले महसुस गर्ने गरी काम गर्नुस्: उपप्रधानमन्त्री श्रेष्ठ

4.3K
shares

काठमाडौं, २० चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमन गर्न पुगेका उप प्रधानमन्त्री श्रेष्ठले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै यसले प्रहरी संगठनको गौरवलाई बढाउने बताएका हुन् ।

नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उनको भनाइ थियो । नयाँ नीति योजना आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा पनि उपप्रधानमन्त्रीको जोड थियो । ‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन,’ श्रेष्ठले भने, ‘गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।’

सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनको विशेष जोड थियो । जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको भनाइ थियो । ‘प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासँग पुग्छ । त्यति नै यो परिवर्तनको रक्षा हुन सक्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रहरी संगठनको कामबाट नै जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ ।’

राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको बताए । संगठनको सुद्धीकरण सुदृढीकरणका लागि आन्तरिक सुदृढीकरण आवश्यक रहेको कुँवरको भनाइ थियो । त्यसका लागि आफू दृढताका साथ लागेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गरेका थिए ।