सनराइज बैंकद्धारा नेपाल प्रहरी विद्यालयलाई ७० लाखको छात्रवृति
वि.सं.२०७९ चैत २२ बुधवार १९:४१
shares

काठमाडौं, २२ चैत । सन्राइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई करिब ७० लाखको छात्रवृति रकम सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रहरी विद्यालयलका विद्यार्थीहरुका लागि ६९ लाख ८० हजार ६३४ रुपैयाँको छात्रवृति सहयोग गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर शहिद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्र्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरुप छात्रवृति प्रदान गरिएको छ ।

नेपाल प्रहरीे प्रधान कार्यलय नक्शालमा बुधबार भएको सम्झौतामा हस्ताक्षर समारोहमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविन कुमार नेपाल, नेपाल प्रहरीका महानिरिक्षक बसन्त बहादुर कुंवर, नेपाल प्रहरीका विशिष्ट व्यक्तित्वहरु तथा बैंकबाट उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सन्राइज बैंक नेपाल प्रहरी शैक्षिक छात्रवृति सम्बन्धी समझदारी पत्र हस्ताक्षर र हस्तान्तरण समारोहमा सन्राइज बैंकबाट नायब महाप्रबन्धक रविन कुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले छात्रवृति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यस छात्रवृति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नको लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको भनाइ थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं सन्राइज बैंकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षयरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष मात्र १५० भन्दा बढी कार्यक्रमहरु गरेको जनाएको छ ।


















