कोशी प्रदेशको आन्दोलनमा ज्यान गुमाएका लिम्बुलाई शहिद घोषणा गर्ने सरकारको निर्णय
वि.सं.२०७९ चैत २४ शुक्रवार १२:१७
shares

काठमाडौं, २४ चैत । प्रदेश नं १ को नाम कोशी राखिएको भन्दै विरोध गर्ने क्रममा आन्दोलनमा परी मृत्यु भएका पदम बहादुर लिम्बुलाई सरकारले शहिद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्री परिषदको बैठकले लिम्बुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।
मृतक लिम्बुका परिवारलाई सरकारले क्षतिपूर्ती उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कोशी प्रदेश नामाङकरण गलत भएको भन्दै प्रदेशको नाम पुन : सच्याइनुपर्ने माग सहित आन्दोलनमा रहेका बेला यहि चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडी प्रहरीको लाठी लागेर उनी घाइते भएका थिए । घाइते भएका लिम्बुको गत चैत १० गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
धरान उपमहानगरपालिका–१५ बस्दै आएका उनी लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई शहीद घोषणा गर्न माग गरेका थिए । सरकारले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो ।
मन्त्रिपरिषद बैठकपछि मन्त्री शर्माले भनिन्, ‘कोशी नामाकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’

















