Dhulikhel Eco Banner new

आर्थिक विकासका लागि कृषिको संरचनात्मक सुधार आवश्यक छ : डा. फुयाँल

11.45K
shares
काठमाडौं, २३ असार । राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयाँलले मुलुकको आर्थिक विकाका लागि संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् । शनिबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रस्तुति राख्दै डा। फुयाँलले कृषिको संरचतात्मक सुधार गरी उत्पादकत्व बढाउनु आजको आवश्यकता रहेको बताए ।
नेपालमा कृषिको प्रसस्त सम्भावना भएर पनि उत्पादन बढाउन नसकिएको भन्दै उनले विद्यमान मोडलमा केही परिवर्तन जरुरी रहेको सुनाए । ‘कृषि उपजहरु नै हामीले ठूलो मात्रामा आयात गरिरहेका छौँ, स्वदेशमै उत्पादन गरेर हामी कृषि उपज आयात कम गर्न सक्छौँ’ उनले भने, ‘उत्पादन हुने जमिनको उपयोगमा ध्यान दिनुपर्नेछ, थोरै जमिनमा पनि कसरी धेरै उत्पादन गर्न सकिन्छ त्यतातिर काम गर्नु पर्छ ।’
पछिल्लो समय उद्योगी व्यवसायीहरु पनि उद्योग व्यवसाय भन्दा व्यापारमा फोकस भएका छन् । छिटो नाफा कमाउने उद्देश्यले व्यवसायीहरु पनि स्वदेशमै उत्पादन गर्ने भन्दा पनि विदेशबाट आयात गरेर व्यापार गर्न रमाएको भन्दै उनले यसले अर्थतन्त्रको विकास नगर्ने बताए । अर्थतन्त्रको जग भनेको उत्पादन नै हो । उनले भने, ‘उत्पादनमा जोड दिएर अर्थतन्त्रको जग वलियो बनाउनु पर्छ, आत्मनिर्भर बनेर आयातनिर्यातबीचको जुन ग्याप छ त्यसलाई कम गर्नुपर्छ ।’
अर्थतन्त्र राम्रो बनाउनका लागि पूर्वाधार विकास पनि महत्वपूर्ण रहेको बताए । तर, विकास भनेको जादुको छडी नभएको भन्दै सदस्य डा। फुयाँलले विकासका लागि पनि जग वलियो हुनुपर्ने बताए । जग वलियो हुने हो भने बद्मास शासक आए पनि विकास हुने तर जग नै कमजोर हुने हो जतिसुकै राम्रो शासक आएपनि गाह्रो हुने उनको भनाइ छ ।
समस्यामा परेको अर्थतन्त्रमा पछिल्लो समय भने स्पष्ट सुधारका संकेतहरु देखिन थालेको उनले बताए । रेमिट्यान्स पनि राम्रो सुधार हुँदै गएको छ । अब विदेश कामदार पठाउदा दक्ष बनाएर पठाउने भन्दै तर पहिलो प्राथमिकता भने आन्तरिक रोजगारीलाई नै दिने उनले बताए । अहिले मुलुकको विकासका लागि मौद्रिक श्रोत कम भएकाले लक्ष्यहरु हासिल गर्न गाह्रो भएको भन्दै उनले उत्पादन र रोजगारीलाई बढवा दिनु पर्ने आजको आवश्यकता रहेको बताए ।