Dhulikhel Eco Banner new

बढी ब्याजको लोभले सहकारीमा पैसा राख्दा झ्वाम

4.24K
shares

काठमाडौं, २९ असार । उत्तम बचत तथा ऋण सहकारी संस्था लि.ले बचतकर्ताको पैसा फिर्ता नगरेको पाइएको छ । सहकारीकी बचतकर्ता शोभा सिग्देलले आफुले व्यवसाय गर्नका लागी माइतीबाट १० लाख ऋण लिएको पैसा ब्याज आउँछ भनेर राखेको सहकारी भागेको बताइन् ।

सहकारीले आफ्नो बचत फिर्ता नगरि भाग्यो भन्ने खबर सुनेपछि आफुले सहकारीका कर्मचारी, सञ्चालकहरुलाई खोज्दा नभेटिएको र फोन समेत नउठाएको उनको गुनासो छ । उनी विगत १ महिना अघिदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आइरहेकी छिन् ।

फुटपातमा बसेर धुँवा, धुँलो खाँदै चटपटे बेच्न भन्दा व्यवस्थित रुपमा एउटा डेरी खोलेर बस्ने चाहानाले माइतीबाट ३ रुपैयाँ ब्याजदरमा १० लाख ऋण लिएको उनी बताउँछिन् । ‘एक जना चिनजानको बहिनीले फाइनान्समा राखेपछि बढ्छ भन्ने सुझाव दिनुभयो, उहाँ कै सल्लाह अनुसार पैसा यहि राख्छु भनेर राखे ।’ उनी भन्छिन्,‘ अहिले मैले त्यता ब्याज पनि तिर्न सकेको छैन ।’

माइतिघर मण्डलामा आन्दोलन गर्दा र धर्ना दिँदा सबैको मूख्य समस्या शौचालयको रहेको पिडित सिग्देलले बताइन् । ‘शौचालय जानुपर्छ भनेर सबैले प्राय पानी कम पिउने गर्छन् । उनी भन्छिन्, ‘आसपासका होटलमा चिया खाने निहुँमा शौचालय गयो एक कपको ४५ रुपैयाँ पर्छ ।’

सहकारी विभागमा उजुरी लिएर पुग्दा पनि विभागले राम्रो प्रतिक्रिया नगरेको र उल्टै थर्काउने गरेको उनको गुनासो छ । ‘ब्याजको लोभले तपाईहरु सहकारीमा पैसा राख्नुहुन्छ अनि अहिले समस्या परेपछि हामी कहाँ आउनु हुन्छ । तपाईहरु पनि सहकारीको सदस्य हो । अध्यक्ष डुब्यो त सदस्य पनि डुब्यो’ जस्ता वाक्यांश सहकारी विभागले प्रयोग गरेको उनले बताइन् ।

आफुहरुले शान्तिपूर्वक आन्दोलन गरेको कारण हेपेको बताउँदै उनले अब आन्दोलन चर्काउँने र वृहत आन्दोलन गर्ने चेतावनी दिइकी छिन् । अब आफुहरु चुप नबस्ने र जसरी पनि आफ्नो रकम फिर्ता लिएर घर फर्कने उनले बताइन् ।