सिवाईसी लघुवित्तमा डोलेन्द्रको रजगज, राष्ट्र बैंक बन्यो मुकदर्शक
वि.सं.२०८० असार २९ शुक्रवार ०८:२०
shares

काठमाडौं, २६ असार । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थामा नियम विपरित सञ्चालक समितिमा रहेको व्यक्तिले कार्यकारी अधिकारसहित संस्था चलाएको पाइएको छ । सिवाईसी लघुवित्तको प्रवन्ध सञ्चालकको रुपमा डोलेन्द्र प्रसाद शर्माले काम काज गरिरहेका छन् । लघुवित्तकै एक सञ्चालकले दिएको जानकारी अनुसार उनको रजगज अहिले संस्थामा सही नसक्नुको छ ।
राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकको यो निर्देशन पछि धेरै बैंक तथा वित्तीय संस्थामा रहेका कार्यकारी सञ्चालक तथा कार्यकारी अध्यक्षले एक पद छाडेका थिए ।
मर्जर पछि केही समयका लागि दिइएको सुविधाको व्यापक दुरुपयोग गर्दै शर्माले संस्थालाई आफ्नो कब्जामा लिएका छन् । ‘उहाँ त बोर्डमा पनि डन हुनु भयो, व्यवस्थापनमा पनि ठूलो डन’ संस्थाका एक अधिकारी भन्छन्, ‘उहाँलाई नियमविपरित छु भन्ने कुरा थाहाँ छ, तर बोल्न सक्ने वातावरण पनि छैन ।’
यो विषयमा राष्ट्र बैंक पनि जानकार छ । तर, केन्द्रीय बैंक आफै मुक दर्शक बनेको छ । राष्ट्र बैंकका लघुवित्त पर्यवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले अब उनलाई पदबाट हट्न निर्देशन दिने बताए । उनले भने, ‘त्यस्तो अवस्थामा उनलाई कारर्बाही हुने भन्दा पनि कुनै एक पदबाट यति दिनमा हट्न निर्देशन दिन्छ, अहिले निर्देशन दिएको नदिएको मलाई जानकारी छैन ।’
एमडि शर्माले एकिकृत कारोबार भएको ६ महिनासम्म समय हुने हुँदा अझै पनि २ महिना समय रहेको बताएका छन् । ‘हाम्रो नियमक निकाय भनेको राष्ट्र बैंक हो, अब नियमक निकायले नै निर्देशन जारी गर्छ भने एउटा पद छडौंला नि के छ र ।’ उनले भने ।



















