Dhulikhel Eco Banner new

लम्पी स्किन देशभर फैलँदै, कुखुराको मासुको मूल्य घटेदेखि हुम्लामा भुकम्प गएसम्म

3.59K
shares

काठमाडौं, २९ असार ।  निक्षेपको ब्याजदर सम्बन्धी बैंकका सीईओहरुले गर्दै आएको भद्र सहमति तोडिएको छ । बैंकको ब्याजदर अस्वभाविक रुपमा तलमाथि नहोस् भनेर बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गरेर ब्याजदर तोक्ने गरेको थियो ।

साउन १ देखि अब बैंकहरुले आफ्नो अनुकुल अनुसार ब्याजदर तोक्न सक्ने संघले निर्णय गरेको हो । बैंकहरुले यसरी ब्याजदर तोक्दा समग्रमा हितकर नै हुने भएपनि यसअघि बैंकहरुले ब्याजदरको सीमा तोक्दा ‘कार्टेलिङ’ गरेको भन्दै आलोचना समेत हुने गरेको थियो ।

लम्पी स्किनले लियो २७ हजार चौपायाको प्राण, रोग देशभर फैलँदै

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकभरि नै फैलिएको छ । २०७७ साल साउन २२ गते मोरङको सुन्दर हरैंचा नगरपालिकामा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । तर, अहिलेसम्म देशका ७६ जिल्लामा लाग्ने लम्पी स्किन रोग फैलिएको पशु सेवा विभागले जनाएको हो । लामखुट्टे, झिँगा, किर्नाको टोकाइबाट पशु चौपायामा लाग्ने यो रोगका कारण गाईभैसीका खुट्टा सुनिने, जीउ भरी फोका आउने, कानमा गिर्खा देखिने जस्ता लक्षणहरू देखिने गरेका छन् ।

पशु सेवा विभागको एक तथ्याङ्कअनुसार असार २५ सम्म ७ लाख ६४ हजार बढी चौपायामा रोग देखा परेको छ । झन्डै पाँच लाख निको भए पनि २७ हजार मरेका छन् भने साढे दुई लाखमा अझै रोग सक्रिय रूपमा रहेको जनाएको छ । लम्पी स्किनको निदानका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको जनाउँदै विभागले २ लाख २२ हजार खोप लगाइएको पशु सेवा विभागले जनाएको छ ।तर, किसानहरू भने रोग नियन्त्रणमा आउन नसकेको भन्दै आन्दोलित भएका छन् ।

देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइको आपत्ती भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध

ललितुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बैंकबाट लिएको कर्जाको विषय र सहकारीको बचतकर्ताहरुको रकम फिर्ताको विषयलाई लिएर केही दिनदेखि कतिपय सञ्चार माध्यममा फैलाएको अफवाहप्रति आपत्ति जनाएका छन् ।

बजारमा छरिएका अर्नगल प्रचार र भ्रमकोपछि नलाग्न सबै बचतकर्ता तथा वित्तिय संस्थाहरुलाई उनले अनुरोध गरेका छन् । अध्यक्ष चौलागाइले विज्ञप्तीमा ६ महिना भित्र बचतकर्ताहरुको साँवा र ब्याज तिर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बचतकर्ताहरुको बचत रकम फिर्ताको कार्ययोजना बनाइ उनले सहकारी विभागलाई पेश गरिसकेको बताएका छन ।

कुखुराको मासुको मूल्य घट्यो, प्रसतकेजी २९० रुपैयामा नै पाइने

पछिल्लो तीन दिनमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ । २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यो मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको हो ।

पछिल्लो पटक मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । यसअघि ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो ।

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प

हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्‍यूडको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।