गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै विभिन्न प्रदर्शन सुरु, सप्तकोशी किनारमा युवतिहरुको झगडादेखि अवैध सुन प्रकरणसम्म
वि.सं.२०८० साउन ७ आइतवार ०७:००
shares

के तपाइलाई थाहा छ एक प्रेमीले प्रेमीकालाई चुम्बन गर्ने क्रममा उनको कानको जाली फुटेको छ । यो घटना चीनको हो । चीनको मिडिया अनुसार एक सहरकी एक महिला हुइझाउ फर्स्ट पिपल अस्पतालको नाक, कान घाँटी विभागमा उपचारका लागि पुगिन् । उनको बायाँ कान दुखिरहेको थियो र त्यस कानबाट उनले केही सुनिरहेकी पनि थिइनन् ।
परीक्षण गर्दा डाक्टरले उनको कानको जालीमा सुकेको रगत देखे । नजिकबाट अनुसन्धान गरेपछि उनको कानको जालीमा चोट लागेको पत्ता लाग्यो । महिलालाई के भएको थियो भनेर डाक्टरले सोधे । विगतमा कानमा चोट लाग्ने खालको त्यस्तो ठुलो घटना केही नभएको उनले डाक्टरलाई बताइन् । त्यसो भए हालै केही त्यस्तो घटना केही भएको थियो त भनेर डाक्टरले सोधेपछि उनी झसङ्ग भइन् र अन्तरङ्ग पल साटासाट गर्दा प्रेमीले कान चुसेको बताइन् ।
विस्फोट हुँदा वा अत्यधिक ठुलो आवाजलगायतका बाहिरी वायुमण्डलीय दबाबमा अचानक परिवर्तन हुँदा कानको जाली फुट्ने सम्भावना हुन्छ । यद्यपि, रोमान्टिक चुम्बन गर्दा कानको जाली फुट्नु पक्कै पनि सामान्य कुरा होइन ।
आफैँले राखेको नक्कली बम सेनाले डिस्पोज गरेको हेर्न जाँदा पक्राउ परे एक युवक
सामान्य रुपमा भन्नुपर्दा चोर भाग्छन्, डराउँछन् तर सिनामंगलमा भने एक युवकले शंकास्पद वस्तु राखे । प्रहरीले डिस्पोज गर्दा आफै हेर्न आए सोहि क्रममा उनी पक्राउ समेत परे । हलेसी ज्वेलर्समा सुन पसलमा शंकास्पद वस्तु राखेको आरोप उनीमाथि छ ।
सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको प्रहरीलाई बताएका छन् ।
ज्वेलर्स अगाडि राखिएको शंकास्पद वस्तु बम नभएको पनि पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको हो ।
सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट, सबै पक्राउ
सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले निकै भाइरल भइरहेको हो ।
कुटपिटमा संलग्न रहेको आरोपमा सबै युवतीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
कुटपिट गर्ने ५ जनालाइ नै प्रहरीले पक्राउ गरेको हो । कुटपिट घटना गत असार २९ गतेको हो । प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए । १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको हो ।
आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ । कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन् ।
फेसबुकको उक्साहटले ‘धर्म विवाद’मा हर्क साम्पाङ
आफ्नै अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक विवादमा तानिँदै आएका धरान नगर प्रमुख हर्कराज साम्पाङ धार्मिक विवादमा फसेका छन्। धरान १४ विजयपुरस्थित गोपाल मन्दिरनजिकै चर्च बनाइएको विषयमा साम्पाङ विवादमा मुछिएका हुन्।
उनीमाथि गलत आशयले वा धार्मिक सद्भाव भड्काउने हिसाबले चर्च निर्माण गराइएको आरोप लागिरहेको छ।
पार्टी प्यालेस बनाउने भनेर झुकाउँदै चर्च बनाइएको विजयपुर क्षेत्र धार्मिक संरक्षण समितिले जनाएको छ। आफूहरूलाई ढाँटेर जबर्जस्ती चर्च बनाइएको भन्दै समिति सदस्यसँगै स्थानीय विरोधमा उत्रिएका छन् ।
धार्मिक सद्भाव भड्काउने गरी मन्दिरनजिकै बनाइएको चर्च भत्काउनुपर्ने उनीहरूको माग छ । आफ्नो गतिविधिका कारण धार्मिक सद्भाव खलबलिने संकेत बढेपछि उनी झन् आक्रमक ढंगमा प्रस्तुत भएका छन् । उनले सामाजिक सञ्जालमार्फत निरन्तर विवादास्पद अभिव्यक्ति दिइरहेका छन् ।
अहिलेसम्मकै ठुलो परिमाणमा करिब एकसय किलो सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास गरी पठाएको सामानबाट झण्डै एक सय किलो अवैध सुन बरामद भएको छ ।
अहिलेसम्मकै ठुलो परिमाणमा अवैध सुन भन्सारबाट कटाएपछि विभागले छानबिन समिति गठन गरेको छ । बुधबार भन्सार जाँचबाट कटाएर ट्याक्सीमा राखिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
सो विषयमा अनुसन्धान गर्न भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन छ । समितिले विमानस्थलको भन्सार जाँचपासमा भएको संलग्नताको विषयमा छानबिन गर्ने भएको छ । विभागले भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने तयारी गरिरहेको छ ।
हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट ल्याइएको स्कुटरको ब्रेक शुमा राखेर सुन ल्याएको थियो । नेपालको रेडी ट्रेडर्सले ती सामान मगाएको थियो ।
गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै विभिन्न प्रदर्शन
विमास्थलको भन्सारबाट करिब एकसय किलो अवैध सुन पास भएको घटनापछि अहिले गृहमन्त्री नारायण काजी श्रेष्ठको चौतर्फी विरोध भैरहेको छ । कतिपयले त उनको रुाजीनामा समेत मागेका छन् । त्यस्तै नेकपा एमाले निकट युवा संघ नेपालले श्रेष्ठको राजिनामा माग गरेको छ । मन्त्री श्रेष्ठको राजिनामा माग गर्दै युवा संघले काठमाडौंमा मसाल जुलुस समेत प्रदर्शन गरेको हो ।
अवैध रुपमा आएको सुन विमान स्थालको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसीरहन नैतिकता नहरेको संघको भनाई छ । जुलुसमा सुन तस्कारीलाई पक्राउ गर्न माग गरिएको थियो ।


















