Dhulikhel Eco Banner new

स्थानीय कृषि उत्पादन पाइने शनिबारे मेला चितवनमा सुरु

5.93K
shares

चितवन, ६ साउन । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी चितवनको भरतपुरमा स्थानीय उत्पादन प्रवद्र्धनका लागि शनिबारे मेला सुरु भएको छ ।

स्थानीय, रैथाने, मौलिक र परम्परागत उत्पादन र मुख्यतः स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्धेश्यले चितवन उद्योग संघको आयोजना एवम् चितवनमा रहेका सम्पूर्ण स्थानीय तहहरुको सहयोगमा मेला आरम्भ गरिएको हो । प्रत्येक शनिबार विहान ६ बजेदेखि ११ बजेसम्म सो मेला चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।

मेलाको उद्घाटन भरतपुर महानगरपालिकाका नगर प्रमुख रेणु दाहालले शनिबार विहान उद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथि दाहालले मेलामा वास्तविक किसान र स्थानीय कृषि उपज एवम् उत्पादनलाई बढावा दिनुपर्ने बताइन् । स्थानीय अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउँदै दिगो आर्थिक वृद्धिका लागि कृषि मेला कोसेढुंगा हुने विश्वास समेत उनले व्यक्त गरिन् ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्थानीय उत्पादनमा आधारित उद्यमशीलता विकास गर्नुका साथै रोजगारी र स्वरोजगारी अभिवृद्धि गर्नका लागि “खेतदेखि भान्छा” को अवधारणा अनुसार मेला सुरु गरिएको बताइन् । “उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध कायम गर्नुका साथै स्वस्थकर, रैथाने र परम्परागत स्थानीय उत्पादनलाई अभिवृद्धि गरी ग्रामीण अर्थतन्त्रलाई मजबूत बनाउनु पनि यस मेलाको उद्धेश्य हो”, उनले भनिन् । मेलालाई आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता समेत उनले व्यक्त गरेकी छिन् ।

प्रत्येक शनिबार विहान ६ बजेदेखि ११ बजेसम्म आयोजना गरिने शनिबारे स्थानीय उत्पादन प्रवद्र्धन मेलामा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र परम्परागत उत्पादन तथा खाद्यान्नका परिकार, घरेलु हस्तकलाका सामान, स्वदेशमा नै उत्पादन भएका ताजा फलफूल तथा तरकारीहरु, पोल्ट्री तथा दुग्ध उत्पादनहरु, मस्यौरा, गुन्द्रुक लगायतका परम्परागत उत्पादन, चिया, कफी, हर्बल सामग्री तथा खानाका विभिन्न परिकार गरी ४० स्टल रहेका छन् ।

उपभोक्तासँग अन्तरक्रियाको अवसरः उद्यमीहरु

मेलाका सहभागी उद्यमीहरुले मेलाले स्थानीय उद्यमी र उपभोक्ताको बीचमा सेतुको काम गरेको धारणा राखे । “हाम्रा उत्पादनहरुप्रति उपभोक्ताको धारणा तथा प्रतिक्रिया प्राप्त गर्न र उपभोक्तासँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्नका लागि मेला निकै महत्वपूर्ण छ”, मान्द्रो नेपालका सञ्चालक अम्विका धितालको भनाइ छ, “उपभोक्ताको रोजाइका उत्पादन गर्न यस किसिमका मेलाले सहयोग पु¥याउँछन् ।”

शर्मा एग्रो प्रोडक्टसका सञ्चालक विन्दु शर्माले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न र उत्पादित बस्तुको बजारीकरणमा समेत मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “स्थानीय कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्दै उद्यमशीलता विकासका लागि स्थानीय तहहरुले आफ्ना वार्षिक नीति कार्यक्रम र बजेट तर्जुमा गर्न सकेमा उद्यमममा महिला सहभागिता र नेतृत्व वृद्धि हुन सक्छ”, उनले भने ।

स्थानीय केराबाट ममः बनाएर बिक्री गर्दा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको र अझै हौसला थपिएको उद्यमी चन्दना कोइरालाले बताए ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, जिल्लाका सुरक्षा निकाय प्रमुखहरु, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ लगायतले मेलाको अवलोकन पश्चात् चितवनका कृषिमा आधारित उद्योगहरुको क्षमता विस्तार गरी राष्ट्रिय बजारलाई लक्षित गरी उत्पादन अभिवृद्धि गर्न सकिने सम्भावना रहेको बताए ।