वैदेशिक रोजगार सेवा शुल्क अब अनिवार्य बैंकिङ माध्यमबाट तिर्न विभागको आग्रह
वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:११
shares

काठमाडौं, १८ वैशाख । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने तथा सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्ने उद्देश्यले यस्तो आग्रह गरेको जनाएको छ।
विभागका अनुसार इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई बुझाउनुपर्ने सेवा शुल्क अब बैंकिङ माध्यमबाट मात्रै भुक्तान गर्नुपर्नेछ। नगद कारोबार गर्दा ठगी भएमा प्रमाण जुटाउन कठिन हुने भएकाले नगदमा भुक्तानी नगर्न स्पष्ट निर्देशन दिइएको छ।
सेवा शुल्क भुक्तानी गर्दा प्राप्त हुने कागजी प्रमाण तथा अनलाइन कारोबारको विवरण अनिवार्य रूपमा सुरक्षित राख्न पनि विभागले श्रमिकलाई अनुरोध गरेको छ।
विभागले जारी गरेको सूचनामा वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कारोबार नगदमा नगर्नरनगराउन आग्रह गर्दै सम्भावित ठगीबाट जोगिन सबैलाई सचेत रहन अपिल गरेको छ।


















