Dhulikhel Eco Banner new

सिवाईसी लघुवित्तद्वारा नियम कानूनको बर्खिलाप, डोलेन्द्रलाई कसरी मिल्यो राष्ट्र बैंकलाई नटेर्ने हिम्मत ?

21.11K
shares

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकलाई नै खुला चुनौती दिदै एमडिको रुपमा काम गरिरहेका डोलेन्द्र शर्माको एकलौटी चल्ने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थामा नियम कानूनको धज्जी उडाएको पाइएको छ । यस संस्थाको सञ्चालक समितिले अवैधरुपमा काम गरिरहेको पाइएको छ । सिवाईसी नेपाल लघुवित्त सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सपथ नलिई काम गरिरहदा समेत राष्ट्र बैंक भने मुकदर्शनक बनेको छ ।

राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकको यो निर्देशन पछि धेरै बैंक तथा वित्तीय संस्थामा रहेका कार्यकारी सञ्चालक तथा कार्यकारी अध्यक्षले एक पद छाडेका थिए । तर, डोलेन्द्रले भने छाडेका छैनन् ।

उता सपथ लिनै पर्ने कानूनी बाध्यता रहे पनि डोलेन्द्रले राष्ट्र बैंक आफ्नै कब्जामा रहेको भन्दै सपथ नलिए समेत केही नपर्ने भन्दै धम्की लडाउदै हिड्न थालेका छन् ।

राष्ट्र बैंकले शपथ सम्बन्धी जारी गरेको निर्देशनमा भनिएको छ, ‘सञ्चालक निर्वाचित वा मनोनित भएको मितिले ३५ दिनभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्छ । अध्यक्षले सपथ लिँदा उपत्यकाभित्र प्रधान कार्यालय रहेका राष्ट्रियस्तरका लघुवित्तको हकमा नियमन विभागका कार्यकारी निर्देशक वा निर्देशक समक्ष र उपत्यका बाहिर कार्यालय रहेका संस्थाको हकमा सम्बन्धित क्षेत्र हेर्ने राष्ट्र बैंक कार्यालयको निर्देशक समक्ष पद तथा गोपनीयताको सपथ लिनु पर्नेछ ।’

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत फागुन ३० बाट एकीकृत कारोबार सुरु गरेका थिए । दुईवटा लघुवित्त मर्ज भएपछि नयाँ लघुवित्तको नाम भने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था राखिएको थियो ।

सिवाईसीमा नेपाल लघुवित्तमा सञ्चालक चयन भएको १२० दिन बितिसकेको छ । तर, उनीहरुले कानूनअुनसार पद तथा गोपनियताको सपथ भने अझै लिएका छैनन । सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्यमनाथ शर्माले भने सिवाईसी नेपाल लघुवित्तमा पहिले कै सञ्चालक र पहिलेकै सीईओ रहेकाले सपथ नलिएको बताउछन् ।

‘हाम्रो अहिले निर्वाचन बिना नै पहिलेकै सञ्चालक पहिलेकै सीईओ भएको हुँदा सपथ लिनु पर्दैन’ उनले भने, ‘हामीले मर्जर पछि सपथ लिने कुरामा राष्ट्र बैंकसँग कुरा राख्दा राष्ट्र बैंकले निर्वाचन नभई सञ्चालक समिति बनेको र उक्त समितिमा रहेका व्यक्तिहरुले पहिले नै सपथ लिएकाले पुनः सपथ लिन नपर्ने लिखित रुपमै दिएको हो ।’

उनले राष्ट्र बैंकमा शपथ लिन गाह्रो काम नरहेको भन्दै उनले भने, ‘ राष्ट्र बैंकले शपथ लिनुपर्छ भनेको भए हामीले लिन्थ्यौं, सपथ लिन गाह्रो कुरा पनि होइन ।’ राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपाल भने यस विषयमा आफूलाई थाहै नभएको भन्दै गैरजिम्बेवारी उत्तर दिन्छन् । श्रोतका अनुसार कार्यकारी निर्देशक नेपाल र डोलेन्द्र एकअर्काका सपोर्टर हुन् ।

नेपालले खुलेरै डोलेन्द्रलाई नियम विपरित हुने कामहरुमा समेत सहयोग गर्ने गरेका छन् । केही दिन अघि लघुवित्त वित्तीय संस्थाहरुको सीईओहरुको छलफलमा डोलेन्द्रले उठाएका विषयवस्तुहरुमा बोल्ने जति सबै सीईओहरुले विमति राखेका थिए । तर, कार्यकारी निर्देशक नेपालले डोलेन्द्रको समर्थन गर्दै अरु सीईओहरुलाई हप्काएको छलफलमा सहभागी एक व्यक्तिले केटिएम भ्वाइसलाई बताएका छन् । सपथ नलिएको अवैधानिक उक्त सञ्चालक समितिले गरेको कार्यक्रममा समेत नेपाल सहभागी भएका थिए ।

Follow Up

सिवाईसी लघुवित्तमा डोलेन्द्रको रजगज, राष्ट्र बैंक बन्यो मुकदर्शक

सिवाईसी लघुवित्तमा डोलेन्द्रको रजगज, राष्ट्र बैंक बन्यो मुकदर्शक