Dhulikhel Eco Banner new

किसानलाई ठग्दै अनुदानको मल बढी मूल्यमा बिक्री

6.36K
shares

काठमाडौं, २२ साउन । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुगमन गरेकोमा प्रतिकिलो १० देखि १५ सम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका हुन् ।

अनुगमनका क्रममा पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह कृषि सुलभ पसलले २१ को युरिया ३५ र ५० को डिएपी ६५ मा बिक्री गरेको पाइएको महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

मल बिक्री वितरण गर्ने अनुमतिसमेत नपाएको सो पसलले उपभोक्ता सहकारी सङ्घबाट मल ल्याएर बढी मूल्यमा बिक्री गरेको भेटिएको बताउँदै उनले आज २ बजे जिल्ला प्रशासन कार्यालयमा बोलाइएको र बाँकी २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास बिक्री वितरणमा रोक लगाइएको जानकारी दिए।

स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रमा किसानको परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना नगरिएकाले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बोलाइएको महानगरपालिकाले जनाएको छ । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो ।

युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डिएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकेको थियो ।