Dhulikhel Eco Banner new

कपनमा बालेनको डोजर आतंकदेखि रोनाल्डोको इन्स्टा फलोअर्स ६ सय मिलियनसम्म

5.98K
shares

काठमाडौं, २८ साउन । बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली गत बिहीबार कपन पुगेको थियो । स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयको विरोभ पछि डोजर चल्न दिइएको थिएन ।

काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर चलाएको स्थानीयको भनाइ थियो ।काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको थियो एक दिन पुरै दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन ।

तर शुक्रबार भने दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरेको छ । यसअघि बुढानिलकण्ठका स्थानीय र जनप्रतिनिधिले महानगरको कार्यक्षेत्र नपर्ने भन्दै डोजर चलाउन रोक लगाएका थिए ।

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा रिहा भएका छन् । उनलाई नक्कली सर्टिफिकेट लिएको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबारमात्रै पक्राउ गरेको थियो । पक्राउ परेका सांसद शर्मालाई म्याद थपका लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । तर अदालतले उनलाई थुनामा राख्नका लागि म्याद थप्न अस्वीकार गरिदिएको छ । यससँगै सांसद शर्मा शुक्रबार नै रिहा भएका छन् ।

रिहा भए पनि उनी माथि लागेको अभियोगको भने अनुसन्धान जारी रहनेछ । बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो । यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ परेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । कम्पनीलाई बक्यौता तिर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि प्राधिकरणले शुक्रबारदेखि सबै हेलिकप्टर उडानमा रोक लगाएको हो।

सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । विमानस्थल सेवा शुल्क नियमावली २०७८ को व्यवस्थाअनुसार सिम्रिक एयरको सम्पूर्ण उडानहरू शुक्रबारबाट लागू हुने गरी रोक गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ ।

बर्खाको समयमा बाढी आउँछ यो सामान्य कुरा हो तर घरमा बाढी पसेर कति त घरबार बिहिन नै हुन्छन् । करिब ३ दिन अघिदेखि अहिले सामाजिक सञ्जालमा यो एक भिडियो निकै भाइरल भइरहेको छ । त्यो हो पत्रकारले कैलालीको डुबानमा गरिएको एक रिपोर्टिङ । कतिले जोखिम मोलेर गरिएको भनेका छन् धेरैले यो राम्रो उदाहरण होइन भन्दै विरोध गरेका छन् त कसैले अन्य देशको मिडियाको सिको गरेको पनि भनेका छन्। के यसरी रिपोटिङ गर्नु राम्रो हो त ?

पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो इन्स्टाग्राममा ६ सय मिलियन अर्थात ६० करोड फलोअर हुने पहिलो व्यक्ति बनेका छन् । ४ सय मिलियन फलोअर भएबेला देखिनै रेकर्ड बनाएका रोनाल्डोले गत वर्ष नोभेम्बरमा ५०० मिलियनको रेकर्ड बनाएका थिए ।

रोनाल्डोले नौ महिनाको अवधिका १० करोड फलोअर बढाएर नयाँ रेकर्ड राखेका हुन् । फेसबुकमा पनि रोनाल्डो सर्वाधिक बढी फलोअर हुने खेलाडी हुन् । उनको फेसबुक पेजमा १ सय ६५ मिलियन फलिअर रहेका छन् ।
त्यस्तै, रोनाल्डोको एक्समा १ सय ९ मिलियन फलोअर रहेका छन् । यसरी फेसबुक, इन्स्टाग्राम र एक्समा गरी रोनाल्डोको कूल ८७ करोड २१ लाख बढी फलोअर रहेका छन् ।