दाल भातकै पिरलो भएको बेला को आउछ सिंगारिन ?
वि.सं.२०८० कात्तिक ३ शुक्रवार १८:०४
shares

काठमाडौं, ११ असोज । चाबहिल स्थित केएल टावरको तेस्रो तल्लामा छ ‘फेसियल हाउस’ । जहाँ महिला पुरुषलाई आफ्नो आवश्यकता अनुसार सुन्दर बनाइन्छ । भित्र छिर्ने ढोकैमा छ सञ्चालक सुस्मा महराको हाँसिरहेको तस्विर ।
भित्र के भइरहेको छ बाहिरबाट प्रष्ट देखिन्छ । सबै पारदर्शी छ । एकाध कुर्चिमा सेवाग्राही छन् कपाल मिलाउदै गरेका । आधा भन्दा बढी कुर्चि खाली छ । ग्राहकका लागि भित्तामा राखिएका ठूल्ठूला ऐनामा आफ्नै अनुहार हेर्दै ओहोर दोहोर गर्दै छन् फेशियल हाउसका कर्मचारी । सञ्चालक महरा ग्राहककै सेवामा थिइन् ‘अलि जटिल प्रकृतिको काम म आफैं गर्छु ।’ महराले भनिन् ।
यो बाहेक अरु छ वटा आउटलेट छ फेसियल हाउसको । विजनेशको स्थितीबारे कुराकानीका क्रममा महराले भनिन् ‘अहिले त मात्रै बन्द हुनबाट जोगाएको छु । कर्मचारीले तलब मात्रै पाएका छन् ।’ उनको सात वटा आउटलेटमा एकसय बढीले काम गर्छन् ।
कोरोना संक्रमण सुरु हुनु अघिसम्म फेसियल हाउसमा काम गर्नेहरुले गज्जब कमाई गर्थे । सिपमुलक काम भएकाले सेवाको समेत हिसाब हुन्थ्यो । ‘तलबका अतिरिक्त प्रत्येक कर्मचारीले योग्यता क्षमताको आधारमा कमिशन पाउथे । अहिले तलब घटेको छैन । कमिशन पाउदैनन् ।’ संस्था गरिब भएपछि काम गर्नेको आम्दानी पनि घटेको कुरा गरिन् ।
महराको भनाई अनुसार श्रृङ्गारकर्ताहरुको अहिले सबै भन्दा खराब समय हो । ९५ प्रतिशत ग्राहक घटेका जानकारी दिँदै उनी भन्छिन् ‘चाडबाडलाई तार्गेट गरेर गरिएका अफरमा समेत ग्राहकहरु ५० प्रतिशत घटेका छन् ।’ जबकी कुनै बेला यहि फेशियल हाउसमा सिंगारिन समेत पालो कुर्नु पथ्र्यो । जसको कपाल नकाटी भएको छैन । छालामा समस्या देखियो वा अन्य समस्या देखियो भने मात्रै आउछन् । महराको भनाईलाई मान्ने हो भने ‘सबै चिजले पुगीसरी आएपछि मात्रै मान्छेले सिंगारको बारेमा सोच्छ ।’ अहिले दाल भातकै पिरलो धेरैलाई परेकाले आफ्ना ग्राहक घटेको उनको बुझाई छ ।
भूकम्पपछि सकसै सकस
०७२ सालमा आएको विनाशकारी भूकम्पले महरालाई राम्रै झट्का दियो । मर्ने हो कि बाँच्ने ठेगान नभएको बेला सिंगारिन जाने कुरा पनि भएन । भूकम्पको पराकम्पन रोकिएपछि जनजीवन सहज हुन थाल्यो । फेसियल हाउसका बन्द सटर खुले । कर्मचारीहरु पुरानै लयमा फर्किए । व्यवसायले गति समाउनै लागेको थियो । कोरोना आयो । सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क नलगाई हिँड्नै नहुने, हातमा छिन छिनमा सेनिटाइजर लगाउन पर्ने । यस्तो बेलामा सिंगारिने कुरा असम्भव जस्तै भयो ।
कोरोना संक्रमणबाट सर्वसाधारणलाई जोगाउन भन्दै सरकारले लकडाउन ग¥यो । मुलुक लगभग ठप्प भयो । सारा मान्छे घरभित्रै थुनिएको बेला महरा मुस्किलले डेढ महिना लडकाउनमा बसिन् । बागबजार, बौद्ध र झापाको आउटलेट बन्द गर्नुको विकल्प रहेन । अनि घरबाटै अनलाइन विजनेश गर्न थालिन् । घरमा आफ्नै भान्सामा भएको सामानबाट कसरी राम्री हुने सिकाइनन् मात्रै आफ्नो पसलमा भएको सामान पनि कटाइन् ।
सरकार व्यवसायीलाई चिन्दैन
मुलुमा अहिले यो संकट आउनुको कारण परनिर्भरता हो भन्ने लाग्छ उनलाई । ‘सरकार आफैंले चलाएको उद्योग धन्दा बन्द गरेर बसेको छ ।’ उनले भनिन् । उनको भनाई अनुसार सरकारले आफ्ना कलकारखाना चलाउन नसकेपनि निजी क्षेत्रका व्यवसायीले पुख्र्यौली सम्पत्ति लगानी गरेर, बैंकबाट लोन लिएर जसो तसो काम गरिरहेको छ । तर, सरकार निजी व्यवसायीका समस्या कहिल्यै बुझ्दैन ।
फेसियल हाउसलाई सुरुमा घरेलु तथा साना उद्योगको रुपमा दर्ता गरेकी महराले अहिले भ्याटमा दर्ता गरेकी छिन् । ‘मैले तीन तहको सरकार पालेकी छु । तर, सरकारी रबैया देख्दा दिक्क लाग्छ ।’ सरकारी कर्मचारीको आचरण नसुध्रिएको कुरा गरिन् ।
बिल देखाउदा पनि जरिवाना
६ वर्ष अघि दशैं आउदै थियो । फेसियल हाउसको हेड अफिस (काठमाडौं मल) को डेकोरेशन परिवर्तन गर्ने योजना अनुरुप प्राविधिकहरु काम गर्दै थिए । सामानहरु छरपष्ट थियो । वाणिज्य विभागबाट अनुगमन आयो । अनुगमनमा कर्मचारीले सामानको बिल मागे । सबै सामानको बिल दिइन् दुई बट्टा क्रिमको बिल भेटिएन ।
बिल खोजिन् । सामान यत्रतत्र थियो खोज्दै खोज्दै बिल भेटिएन । ‘सर अहिले भेटिएन भोली खोज्छु ।’ महराको आग्रह मान्दै कर्मचारीले एउटा कागजमा सही गर्न लगाए । सहि गरिन् र भोलीपल्ट बिल बोकेर अनुगमनवाला अड्डामा गइन् । उनले बोकेको बिलले काम गरेन । जरिवाना तिरिन् । ‘हिजो सहि गरिसक्नु भएको छ । अब यो बिलले काम गर्दैन । ५० प्रतिशत भए पनि जरिवाना तिर्नै पर्छ ।’ कर्मचारीको अगाडी उनको केही लागेन ।
दशैं छेकोमा हुने अनुगमन मात्रै हैन । संस्था नवीकरण गर्दा होस् या कर बुझाउन जाँदा सरकारी कर्मचारीले अभियुक्तलाई जस्तो व्यवहार गरेकाले दिक्क छिन् उनी । उनलाई लाग्छ यसै गरि व्यवसायीलाई निमोठ्दै जाने हो भने अब केही वर्षपछि यो मुलुकमा ‘गुण्डा र नेता मात्रै बाँकी रहन्छन् तिनका छोरा छोरी पनि हुन्नन् ।’
श्रीमानको साथ सहयोग
एफएनसिसिआई काठमाडौंको तीन वर्ष कोषाध्यक्ष भएकी महरा अहिले सचिव छिन् । समग्रतामा उनी सफल व्यवसायी हुन् । आफु यो स्थानमा आउनुमा श्रीमान उज्जवल जंग शाहको साथ र सहयोग नै महत्वपूर्ण हो भन्छिन् । कुनै पनि क्षेत्रमा सफल हुन सबै भन्दा पहिला घरबाटै सहयोग हुनु पर्ने उनको भनाई छ । ‘परिवारबाट सपोर्ट भएन भने छिमेकीले पनि हेप्छन् अनि असफल हुन्छ मान्छे ।’ उनले भनिन् ।
श्रीमानले राखिदिएको नाम
उज्जवलजंग संग उनको दोस्रो विवाह हो । डिएसपी सुमन महराको निधन भएपछि परिवारकै सदस्यले उनको दोस्रो विवाह गरिदिएका थिए ।
डा. पद्मा लामासंग स्किनसम्बन्धी पढेपछि महराले योजना बनाएकी थिइन् । म पनि छालासम्बन्धि नै काम गर्छु । कुनै पनि काम गर्नका लागि पहिला नामकै खाँचो थियो । डायरीमा विभिन्न नाम लेखेर बसिरहेकी थिइन् उनका श्रीमान (स्वर्गीय) सुमन महरा अफिसबाट आइपुगे । सुमनले डायरीमा लेखेको नाम हेर्दै सोधे ‘खास कुन उद्देश्यका लागि गर्न लागेको ?’ महराले भनिन् ‘म छाला सम्बन्धी काम गर्छु ।’
‘दायाँ बायाँ सोच्नै पर्दैन खुरुक्क फेसियल हाउस नाम राख ।’ उनलाई लागेको थियो । म त कपाल सम्बन्धी पनि काम गर्छु । यो नाम अलि ठिक हुन्न कि ? सुमनले आदेशात्म शैलिमा भने ‘यो भन्दा उत्कृष्ट नाम अरु छँदै छैन ।’ अहिले सुमनको भौतिक शरिर यो दुनियामा छैन तर, उनले राखिदिएको नाम सौन्दर्यप्रेमीका विचमा चर्चित छ ।
अनि पोथी बास्यो
काठमाडौं मल व्यापार संघमा अध्यक्ष थिइन् । खासमा काठमाडौं मल सञ्चयकोषले बनाएको बिल्डिङ हो । सञ्चयकोषले विचौलिया मार्फत आम व्यवसायीसं सम्झौता गर्छ ।
व्यवसायीका आ–आफ्नै गुनासा थिए । अध्यक्ष भएपछि व्यवसायीको कुरा नसुनी भएन । मिल्ने जति खाता पाता पनि हेरिन् । सञ्चयकोषका सिमित व्यक्ति र विचौलियाको मिलेमतोमा व्यवसायी मारमा परेका रहेछन् । व्यवसायीले धेरै तिर्नुपर्ने तर, सञ्चयकोषले थोरै पाउने ।
अघिल्लो कार्यकालका पदाधिकारीले समेत सञ्चयकोषका कर्मचारीसंग मिलेर आर्थिक गडबडी गरेको थाहा पाएपछि महरा चर्को स्वरमा बोल्न थालिन् व्यवसायीको पक्षमा । उनलाई मन नपराउनेहरुले ‘पोथी बास्यो’ पनि भने । अरुले जे भने पनि मलका व्यवसायी आफ्ना पक्षमा कुरा गरिदिने मान्छे भेटेकोमा खुसी थिए । महरालाई पनि रमाइलो लागेको थियो त्यही बेला उनी माथी सांघातिक आक्रमण भयो । नर्भिक हस्पिटलमा लामो समय उपचार गरेपछि मात्रै उनी तङ्ग्रिइन् ।


















