पिङ मच्चाउदा डराउँछिन् राधा पोखरेल
वि.सं.२०८० कात्तिक ४ शनिवार ०७:००
shares

काठमाडौं, २ कात्तिक । नेपाल पूँजी बजार लगानी कर्ता संघकी अध्यक्ष राधा पोखरेलले गत वर्ष दशैंमा बर्दिबासमा शेयरबजार सम्बन्धी सचेतना कार्यक्रम राखेकी थिइन् । उनको मामाघर पनि बर्दिबास मै छ । मामा घरमा टिका लगाइन् र शेयर बजार सम्बन्धी प्रशिक्षण दिइन् ।
यसपाली शेयर सम्बन्धी कुनै कार्यक्रम राखेको छैन । कारण बजार क्रमश घटदै गएकाले सचेतना सम्बन्धी उत्साह जगाउने जाँगर चलेको छैन । ‘आफैं निराश भएपछि कसरी सचेतना कार्यक्रम गर्ने ?’ उनले भनिन् ।
परिवारका सबै सदस्य काठमाडौंमै भएकाले प्राय उनको दशैं काठमाडौंमै हुन्छ । माइतीघरकी कान्छी छोरी पोखरेल परिवारमा निर्णायक अधिकार राख्छिन् । दिदी भिनाजुलाई कति दक्षिणा दिने देखी नयाँ नोट कति साट्ने भन्नेमा पनि उनकै निर्णय लागु हुन्थ्यो ।
तीन महिना अघि विवाह गरेकी पोखरेल यसपाली छोरी भन्दा धेरै बुहारीको जिम्मेवारीमा छिन् । नयाँ बुहारी भएकाले घरमा गर्ने गरिने खर्चका विषयमा उनी मौन बस्छिन् ‘नयाँ बुहारीले टिका दक्षिणालगायतका विषयमा चासो राखेको त्यहि सुहाउदैन सासुआमाहरुले नै गर्नुहुन्छ । माइतीमा चाँही अहिले पनि मेरै निर्णय चल्छ ।’ पोखरेलले हाँस्दै भनिन् ।
घर पट्टिको मामाघर बुटवलमा भएकाले घरमा टिका लगाएपछि बुटवल जाने कि भन्ने सल्लाह भएको छ तर, पक्का भैसकेको छैन । ‘अब त मेरो मात्रै समय मिलेर हुन्न मेरो श्रीमानको पनि मिल्नु पर्छ ।’ पोखरेलले भनिन् । उनको श्रीमान नेपाल प्रहरीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । द्धादसीसम्म मात्रै छुट्टि भएकाले बुटवल जाने नजाने पक्का भैसकेको छैन ।
धर्मप्रति आस्था राख्ने पोखरेल हरेक दशैंमा नौरथा लागेपछि प्राय मन्दिर जाने गरेकी छिन् । दशैं, तिहार जस्त पर्वलाई साँस्कृतिक पर्व मान्ने पोखरेल पिङमा भने त्यति धेरै रमाउन सक्दिनन् । अरुले खेलेको देख्दा रमाइलो लाग्छ तर, आफैं पिङ मच्चाउदा डराउछिन् ‘पोहोर साल मामाघरमा खेलेको थिएँ तर, मच्चाइन मलाई कहाली लाग्छ ।’ पीङको अनुभव सुनाउदै भनिन् ।
तेल बचाउन माइतीमा बास
उनको घर थानकोट । माइतीघर मण्डिखाटार । आफ्नो कार्यक्षेत्र माइतघरबाट नजिक पर्ने भएकाले अहिले पनि धेरै जसो उनी माइतीघरमै बस्छिन् । ‘थानकोटबाट आउ जाउ गर्दा दिनको हजार बढी त गाडीमा खर्च हुन्छ त्यही कारण माइतीमा बसेकी छु ।’ गाडीमा तेल बचाउनका लागि म माइती घरमा बसेको कुरा गरिन् ।
१० वर्षमा ओपन हर्ट सर्जरी
उनको १० वर्षको उमेरमा ओपन हर्ट सर्जरी गरिएको थियो । त्यति बेला उनको सर्जरीका लागि मात्रै १० लाख रुपैयाँ लागेको थियो । उनका परिवारका सदस्यले जमिन बेचेर जुटाएका थिए १० लाख ।
सर्जरीपछि नयाँ जीवन पाएको महसुस् गरेकी पोखरेल अहिले आफ्नै खुट्टामा उभिएकी मात्रै छैनन् । आफुलाई पुर्नजीवन दिने परिवारका सदस्यका लागि केही गर्न मन पनि छ । आमा बुबाले छोरीलाई धेरै दक्षिणा दिने कुरा उनलाई निकै लाग्दैन । ‘धेरै पैसा दिएर बढी माया गरिने होइन भन्दै दिदी भिनाजुलाई कति दक्षिणा दिने भनेर मैले नै छुट्याइदिने गरेकी छु ।’ उनले भनिन् ।


















