ऋण नखाेजे दशैँ आउदैन चेपाङ गाउँमा
वि.सं.२०८० कात्तिक ४ शनिवार ०९:३०
shares

चितवन, ४ कात्तिक । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् ।
इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनकाे भनाइ छ । “चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ । चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ ।” उनले भने ।
दशैँ टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए । यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रदै गएको उनको भनाइ छ । “मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्”, केहीले दसैँका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उनको भनाइ छ ।
इच्छाकामना –२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाए। अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उहाँले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताए । उनी भन्छन्, “सोझा जाति भएकाले देखासिकी बढेको छ । यसलाई रोक्न हामीले प्रयास गरेका छौँ ।”
कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजा यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताए । चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनकाे भनाइ छ । पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको गुनासाे गरे । “मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दसैँ मनाउन बाध्य छन् ।” चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता रहेको उनले बताए।
चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन् ।


















