आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वभर विविध कार्यक्रम
वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:११
shares

काठमाडौं, १८ वैशाख । आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) नेपालसहित विश्वभर विविध कार्यक्रमका साथ मनाइँदैछ। श्रमिक वर्गको हकअधिकार, सम्मानजनक कामको वातावरण र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रम सङ्गठन तथा श्रमिक नेताहरूको अन्तर्राष्ट्रिय बैठकले गरेको थियो। त्यसयता सन् १८९० देखि नियमित रूपमा यो दिवस मनाउन थालिएको हो।
यस दिवसको ऐतिहासिक पृष्ठभूमि सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको श्रमिक आन्दोलनसँग जोडिएको छ। “आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम” भन्ने नारासहित सुरु भएको उक्त आन्दोलनका क्रममा हेयमार्केट क्षेत्रमा बम विस्फोट भएको थियो। घटनामा कसको संलग्नता थियो भन्ने स्पष्ट नभए पनि त्यसपछि प्रहरीले आन्दोलनरत मजदुरमाथि दमन गरेको थियो, जसमा सात जना मजदुरको ज्यान गएको थियो।
उक्त आन्दोलनपछि श्रमिक अधिकारका विषयमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका थिए। त्यसैको स्मरणमा विश्वभर श्रमिक दिवस मनाउने परम्परा बसेको हो।
नेपालमा पनि श्रमिक दिवसको अवसरमा विभिन्न ट्रेड युनियन र श्रमिक सङ्गठनहरूले र्याली, सभालगायत कार्यक्रम आयोजना गर्दै आएका छन्। नेपालमा यो दिवस २००७ सालदेखि विराटनगरबाट सुरु भएको मानिन्छ। विसं २०४६ को राजनीतिक परिवर्तनपछि भने यस दिनलाई सार्वजनिक बिदाको रूपमा मान्यता दिइएको हो।
यस अवसरमा श्रमिकहरूले आफ्ना अधिकारको संरक्षण र श्रममैत्री नीति निर्माणका लागि सरकार तथा रोजगारदातालाई ध्यानाकर्षण गराउँदै आएका छन्।


















