Dhulikhel Eco Banner new

ओस्लोमा नेपोसद्वारा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

884
shares

काठमाडौं, १० वैशाख । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेले आगामी मे ३ तारिख तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ। हालै सम्पन्न कार्यसमिति बैठकले प्रतियोगिताको सम्पूर्ण तयारीलाई अन्तिम रूप दिएको जनाएको छ। नेपालको मोरङ निवासी स्वर्गीय चन्द्र प्रसाद गिरीको स्मृतिमा आयोजना गरिने उक्त प्रतियोगिता उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनासहित सञ्चालन गरिन लागिएको हो। संस्थाका तत्कालीन अध्यक्ष राम गुरुङको कार्यकालदेखि सुरु भएको यस रनिङ शिल्ड प्रतियोगिताले खेलकुदमार्फत विभिन्न संघ–संस्थाबीच भाइचारा, आपसी सद्भाव र सम्बन्ध विस्तार गर्ने विश्वास लिइएको छ।

युवा संयोजक धर्मलाल कंडेल (मदन) का अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रतियोगितामा नर्वेमा रहेका विभिन्न नेपाली संघ–संस्था तथा खेलकुद क्लबहरूको सहभागिता रहनेछ भने करिब ७ टोलीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। महासचिव पर्वता पन्थीले विगत वर्षको निरन्तरता स्वरूप यस वर्ष पनि प्रतियोगिता सफल बनाउन विभिन्न संघ–संस्थालाई निमन्त्रणा पठाइसकिएको जानकारी दिनुभयो। त्यसैगरी कोषाध्यक्ष युवराज खनालले प्रतियोगिताको अनुमानित बजेट, आर्थिक सहयोगदाताको विवरण तथा सम्पूर्ण प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक गरिने योजना प्रस्तुत गर्नुभएको छ।

बैठकमा उपाध्यक्ष महेन्द्र खड्का, सचिव नारायण सुवेदी लगायतले कार्यक्रमलाई समयमै व्यवस्थित रूपमा सम्पन्न गर्न खेलाडी व्यवस्थापन, स्वयंसेवक परिचालन लगायतका विषयमा सुझाव दिएका थिए। साथै सम्झना बराल र युवा संयोजक मदन कंडेलले पनि आ–आफ्ना धारणा राखेका थिए। आयोजकका अनुसार यस वर्षको प्रतियोगिता विगतभन्दा अझ आकर्षक र प्रभावकारी हुने अपेक्षा गरिएको छ। विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएकाले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ। नेपोसले नर्वेमा रहेका सबै नेपाली संघ–संस्था तथा प्रतिनिधिहरूलाई कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन अनुरोध गरेको छ। साथै सामाजिक सञ्जालमार्फत समुदायलाई जोड्दै समावेशी सहभागिता सुनिश्चित गर्न आह्वान गरिएको छ।

व्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोग गर्न इच्छुक सबैलाई सहयोगको अभिलेख ऐतिहासिक रूपमा सुरक्षित राखिने प्रतिबद्धतासहित सहयोग गर्न आग्रह गरिएको छ। नेपोसले विविधता, एकता र समावेशिताको भावनालाई आत्मसात गर्दै यस प्रतियोगितामार्फत संस्थाप्रति गरिएको योगदानको कदर गर्दै भावनात्मक सम्मान परम्परालाई जीवित राख्ने उद्देश्य लिएको जनाएको छ।