फूल जस्तै सुन्दर छ नर्सरी व्यवसायीको सपना
वि.सं.२०८० कात्तिक १५ बुधवार १८:३५
shares

काठमाडौं, १५ कात्तिक । आर्थिक मन्दिका कारण व्यापार व्यवसाय गर्न सकिएन । धेरै व्यवसाय गर्ने व्यवसायी विस्थापित भए । व्यवसायको क्षेत्रमा अहिले सबै भन्दा धेरै सुनिने शब्द हो । आर्थिक संकटका कारण व्यापार गर्न गाह्रो भो भनिरहेको बेला नर्सरी व्यवसायीहरुले भने आशावादी कुरा गरेका छन् ।
काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको ‘तिहार फ्लोरा एक्स्पो २०८०’ मा सहभागी नर्सरी व्यवसायीहरुले नर्सरी व्यवसायको भविष्य नर्सरीमा फूलेको फूल जस्तै सुन्दर भएको कुरा गरे ।गमलामा सुन्दर फूलहरु फुलाएर बिक्री गर्दै आएका व्यवसायीले ति सुन्दर फूलको बिउ भने नेपालमा पाउदैनन् ‘नेपालमै बिउ किन्न पाए हामीलाई निकै सजिलो हुन्थ्यो ।’ प्रदर्शनीमा सहभागी ओम नर्सरी उद्योगकी सञ्चालक लिलाकुमारी घिमिरेले भनिन् ‘नेपाल सरकारले बिउ उत्पादनको वातावरण बनाइदिए हामीलाई सजिलो हुन्थ्यो ।’ हरेक वर्ष बिउका लागि पैसा खर्च गर्न पर्दा आम्दानी भन्दा खर्च धेरै भएको कुरा गरिन् ‘अहिले पाँच सयको बिरुवा बेचेपछि हजारको बिउ किन्नु पर्ने अवस्था छ ।’ यसको अन्त्य हुनुपर्छ ।’ घिमिरेले भनिन् । फूलको मात्रै नभएर धान, मकै, गहुँलगायत अन्य वस्तुको बिउ पनि नेपालमै सहज रुपमा उपलब्ध हुनु पर्ने उनको माग रहेको छ ।
नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी प्रसाद तिमल्सेना पनि आर्थिक संकटको असर नर्सरी व्यवसायमा थोरै मात्रै परेको बताउँछन् । ‘अलि अलि त परिहाल्छ तर, कामै गर्न नसकिने अवस्था छैन ।’ आर्थिक संकटको असर त्यति धेरै नपरेको कुरा गर्दै भने ‘सिज्नल फूलमा केही असर गरेको होला अन्यलाई फरक पर्दैन बोन्साई हँुदा मुल्य पनि बढ्छ । अर्का नर्सरी व्यवसायी प्रेमबहादुर दोङले पनि आर्थिक मन्दीको प्रभाव नपरेको कुरा गरे । ‘हामीलाई त्यस्तो गा¥हो भएको छैन । काम गरिरहेका छौं ।’ दोङले भने ।
जग्गा नपाउँदा समस्या
जहाँ बस्ती बाक्लो हुन्छ त्यही हो नर्सरीका बिरुवा खपत हुने । शहरमा फूलखेतीका लागि गतिलो जग्गा नहुँदा व्यवसायी समस्यामा परेको अध्यक्ष तिमल्सेनाको भनाई छ । अध्यक्षको भनाई सहमती जनाउँछिन् घिमिरे पनि । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सरकारी जग्गा नर्सरी व्यवसायीलाई दिनु पर्ने अध्यक्ष तिमल्सेनाको भनाई छ । व्यवसायी घिमिरेले पनि त्यस्ता जग्गा उपलब्ध गराए सरकार र व्यवसायी दुबैलाई फाइदा हुने कुरा गरिन् ‘यदि सरकारले खाली जग्गा हामीलाई दिने हो भने हामी भाडा पनि तिर्छौ, शहरको सौन्दर्य पनि बढाउछौं ।’ अध्यक्ष तिमल्सेनाले भने ।
आयात कम हुँदैछ
भारतबाट फूल आयात हुँदा नेपाली किसान मारमा परेको भनाई पनि सुनिन्छ । तर, यसपाली एक्सपोमा सहभागी व्यवसायीले गुनासो गरेनन् । विदेशमा मात्रै पाइने एजेलिया फूल समेत नेपालमै उत्पादन सुरु भएको जानकारी दिँदै अध्यक्ष तिमल्सेनाले खुल्ला सिमाना भएको कारण केही फूल भारतबाट आउनुलाई सामान्य रुपमा लिनु पर्ने बताए ।
अर्का व्यवसायी दोङले त नेपाली फूल विदेश निर्यातको सम्भावना रहेको संकेत गरे ‘यही गतिमा काम गर्ने हो भने नेपाली फूल विदेशमा निर्यात पनि हुन्छ ।’ दोङले भने ।



















