कृषि विकास बैंकको निष्क्रिय कर्जाको सीमा नाघ्यो, ब्याज आम्दानीमा भने केही सुधार
वि.सं.२०८० कात्तिक १७ शुक्रवार १५:३१
shares

काठमाडौं, १७ कात्तिक। निष्क्रिय कर्जामा कृषि विकास बैंकले ५ प्रतिशतको सीमा नाघेको छ । बैंकले शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशत तोकिदिएको भएपनि कृषि विकास बैंकको निष्क्रिय कर्जाको सीमा नाघेको छ । बैंकले समयमै ऋणीबाट कर्जाको साँवा तथा ब्याज रकम उठाउन नसकेपछि निष्क्रिय कर्जा बढेको हो । बैंकको निष्क्रिय कर्जा ५.३३ प्रतिशत पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा जम्मा २.३८ प्रतिशत थियो ।
बैंकको निष्क्रिय कर्जासँगै लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ७८ करोड ४८ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा २ अर्ब १६ करोड पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकलाई ८८ करोड ८० लाख रुपैयाँ नोक्सान भएको छ ।
निष्क्रिय कर्जा बढेपनि बैंकको खुद व्याज आम्दानीमा भने सामान्य सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८३ करोड रहेको थियो ।


















