तारा एयरका दुई क्याप्टेनबीच विमानस्थलमै झगडा परेपछि…
वि.सं.२०८० कात्तिक १७ शुक्रवार १६:१९
shares
File Picture
काठमाडौं, १७ कात्तिक । रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेले का थिए ।
क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए ।
वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीले जानकारी दिए।
‘आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौँला भन्नुभएको थियो’, डिएसपी पराजुलीले भने। उनले यस विषयमा अनुसन्धान गरिरहेको बताए ।
दुई पाइलटबीच के कारणले विवाद भएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताए। उनका अनुसार घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ ।


















