अंग्रेजी शिक्षिकाको ‘ड्रागन फ्रुट’ खेती
वि.सं.२०८० कात्तिक १७ शुक्रवार १७:२७
shares

तनहुँ, १७ कात्तिक । १६ वर्षसम्म स्कुल पढाइन् कल्पना गौलीले । अंग्रेजी विषयकी शिक्षक कल्पना अहिले भने किसानको रुपमा पहिचान बनाउदैछिन् । व्यास नगरपालिका–२ कालिका मार्गकी गौलीले लगभग १५ वर्ष घरमै बुटिक व्यवसाय पनि गरिन् ।
व्यास नगरपालिका–५ ढोडेनीमा ‘ड्रागन फ्रुट’को खेती सुरु गरेकी गौली प्रकृति र माटोसँग रमाउदा छुट्टै आनन्द प्राप्त हुने धारणा राख्छिन् । अब यही क्षेत्रलाई साधान केन्द्रको रुपमा स्थापित गराउन आफू यस व्यवसायतर्फ लागेको उनकोे भनाई छ । वार्षिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी करिब नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर उनले व्यवसाय सुरु गरेकी छिन् ।
‘माँ अम्बे अलौकिक कृषि फार्म’ की सञ्चालक गौलीले पहिलो वर्षमै १२ लाख रुपैयाँ भन्दा बढीको ड्रागन फ्रुट बिक्री गरिसकेकी छिन् । वैशाखमा फूल खेल्न सुरु भएको ड्रागन फ्रुट ६० दिनभित्र खाना योग्य हुन्छ भने मङ्सिर महिनासम्म फल्ने उनको भनाई छ ।
‘अहिले त व्यवसायीहरु फार्ममै आएर लैजानुहुन्छ, पहिले गाडीमा बजारसम्म लैजानु पर्ने अवस्था थियो’ उनले भनिन् । उनले प्रतिकिलो पाँच सयदेखि छ सय रुपैयाँसम्म ड्रागन फ्रुट बिक्री गर्दै आएकी छिन् ।
गत वर्ष भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएकी थिइन् । उनको फार्ममा ड्रागन फ्रुटका साथै च्याउ, मौरी, फलफूललगायतका बहुआयामिक किसिमले खेती छ । उनले यस वर्ष तीन लाखभन्दा बढीको ड्रागनका बिरुवा बिक्री गरिन् ।
प्रतिबिरुवा दुई सयदेखि पाँच सय रुपैयाँसम्म बिरुवा बिक्री गरेको उनको अनुभव छ । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेको उनको भनाइ छ ।
उनले व्यास नगरपालिका–३ मा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छिन् । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन् ।


















