Dhulikhel Eco Banner new

हरेक महिना ‘रेकर्ड ब्रेक’ गर्ने सम्भावना छ

5.1K
shares

काठमाडौं, १८ कात्तिक । गत मंगलबार पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले नेपालमा पर्यटक आगमनको एक महिनाको नतिजा सार्वजनिक गरे । उनले सार्वजनिक गरेको सूचीमा अक्टोबर महिनामा मात्रै नेपालमा १ लाख १७ हजार ३०७ जना पर्यटक आएका थिए । इतिहासमै ‘रेकर्ड ब्रेक’ थियो यो सूची । सार्वजनिक सूचीले पर्यटन व्यवसायी मात्रै हैन सर्वसाधारण नागरिकलाई पनि खुसी बनायो ।

नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकका लागि पर्यटक आफैंमा यति महत्वपूर्ण हो जुन उद्योगबाट सरकारले सहजै विदेशी मुद्रा प्राप्त गर्न सक्छ ।

एक महिनामै यति धेरै पर्यटक नेपाल आएको घटनाले पर्यटन व्यवसायमा आबद्धहरु अब पर्यटनले गति लिन लागेको टिप्पणी गर्छन् । यसो हुँदैमा मख्ख पर्न नहुने उनीहरुको भनाई छ ‘पर्यटक बढ्यो भनेर मख्ख परेर मात्रै हुँदैन । बढी भन्दा बढी पर्यटक ल्याउने विषयमा अब ठोस योजना बनाउन ढिला भैसक्यो ।’

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका पर्यटन व्यवसायी चन्द्र रिजाल नेपालमा पर्यटक बढाउन एअर कनेन्टीभिटी व्यवस्थित हुनु पर्ने धारणा राख्छन् । उनको भनाई अनुसार कतिपय मुलुकसँग नेपालको ‘डाइरेक्ट फ्लाइट नहुँदा पर्यटकलाई नेपाल आउन समस्या पर्ने गरेको छ । ‘ट्रान्जिट धेरै हुँदा पर्यटकले आउन जान समय धेरै लाग्छ पर्यटकहरुले झर्को मान्छन् त्यसकारण डाइरेक्ट फ्लाइटको व्यवस्था गर्नुपर्छ ।’ रिजालले भने ।

जुनसुकै मुलुकका व्यक्तिले पनि घुम्नका लागि निश्चित दिन समय छुट्याउने गरेको उदहारण दिँदै अर्का पर्यटन व्यवसायी राजन सिंखडाले एअर कनेन्टीभिटीलाई सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । ‘कामकाजी मान्छेहरु नै घुम्न आउने हुन् त्यसकारण उनीहरुलाई जतिसक्यो चाँडो गन्तब्यमा पुग्ने व्यवस्था मिलाउनु पर्छ ।’ नेपाल वायुसेवा निगमले युरोपलगायतका विकसित मुलुकमा डाइरेक्ट फ्लाइट सुरु गर्ने हो भने यो भन्दा बढी पर्यटक भित्र्याउन सकिने उनको भनाई छ ।
त्यसो त पर्यटनमन्त्री सुदर किराँती पनि पर्यटन व्यवसायीको भनाईप्रति सहमत छन् । नेवानीले १० वटा जहाज किन्ने योजना बनाएको बताउदै भन्छन् ‘हाम्रो प्रशासनिक सिष्टमले कुनै पनि काम समयमै गर्न सकिँदो रहेनछ ।’

अथाहा छ सम्भावना
प्राकृतिक र सांस्कृति रुपले नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएकोमा सरकार र पर्यटन व्यवसायी एकमत छन् । निजी क्षेत्रकै प्रयासमा अहिलेसम्म नेपालमा पर्यटन व्यवसाय फष्टाएको धारणा राख्ने व्यवसायीहरु सरकारमा बस्नेहरु पर्यटन उद्योगको विषयमा संवेदनशील नहुँदा पर्यटन व्यवसाय तुलनात्मक रुपमा फष्टाउन नसकेको धारणा राख्छन् । ‘पर्यटन सम्बन्धी जुन ऐन छ । त्यो ऐनको पूर्ण कार्यान्वयन गर्ने हो भने मात्रै पनि नेपालमा प्रशस्त पर्यटक ल्याउन सकिन्छ । तर, ऐन कार्यान्वयनमा सरकारी कर्मचारीले कहिल्यै इमान्दार प्रयास गरेनन् ।’ रिजालले भने ।

रिजालकै भनाई सहमति जनाउदै सिंखडा भन्छन् पर्यटन बोर्ड वा मन्त्रालयका कतिपय कर्मचारीले मैले यसो गर्न खोजेका थिएँ तर, सकिन भन्छन् । त्यो नै सबै भन्दा ठूलो झुट हो ।’ इच्छाशक्ति हुने हो भने अधिकारप्राप्त व्यक्तिलाई कानुन सम्बत काम गर्न कसैले नरोक्ने भन्दै उनी भन्छन् ‘सरकारी अड्डाका हाकिमहरुले पर्यटनको महत्व बुझेकै छैनन् ।’ एअर कनेन्टिभिटी जस्तै, सडकहरु पनि उस्तै खराब छ । काठमाडौंबाट पोखरा वा लुम्बिनी जाँदा खराब रोडका कारण पर्यटकले झर्को मान्ने गरेको अनुभव गरेका व्यवसायी सिंखडा भन्छन् ‘हाम्रा सडकहरु यति खराब छन् काठमाडौंबाट पोखरा जाँदै गरेको कुनै पर्यटक भत्किएको बाटो देख्दै दिक्क मान्छन् ।’ उनले तोकिएकै मितिमा पूर्वाधार निर्माणका काम नहुँदा समस्या परेको धारणा राखे ।

नेपालको हावापानी, संस्कार, संस्कृति पर्यटनमैत्री भएकाले पनि अन्य मुलुकका नागरिकका लागि नेपाल रमाइलो गन्तव्य हुन सक्ने भन्दै व्यवसायीहरु नेपालको बारेमा विकसित मुलुकमा प्रचार गर्नुपर्ने धारणा राख्छन् ।

अर्का व्यवसायी भन्छन् ‘सरकारी तवरबाट पर्यटन विस्तारका लागि कत्ति पनि काम भएका छैन । जे जति पर्यटक आएका छन् नेपाल घुमेर फर्किएकाहरुले गरेको बयानका आधारमा आएका हुन् ।’