गुलियो चिनीको अभावमा खल्लो हुन सक्छ तिहार
व्यापारीहरु नचिनेका ग्राहकलाई चिनी दिन चाहदैनन्
वि.सं.२०८० कात्तिक २० सोमवार १३:४९
shares

काठमाडौं, २० कात्तिक । तिहार आउन एक साता पनि बाँकी छैन । दशैंपछिको ठूलो चाड तिहार लगत्तै आउँछ अर्को महत्वपूर्ण पर्व छठ । यी दुबै पर्व चिनी अत्याधिक खपत हुने पर्वको रुपमा चिनिन्छ । तिहारमा बनाईने सेलरोटी, अर्सा, अनर्सालगायतका परिकारमा चिनी अनिवार्य राख्नैपर्छ । तिहारमा मिठ्ठाई समेत धेरै खपत हुने हुँदा अन्य समयको तुलनामा तिहारमा चिनीको माग अधिक हुन्छ ।
दुःखका साथ भन्नु पर्छ यो तिहार गुलियो चिनीको अभावमा खल्लो हुन सक्छ । गएको दशैदेखी बजारमा चिनी अभाव सुरु भएको थियो । अहिलेसम्म आपुर्ति सहज भएको छैन । भारत सरकारले नेपालमा चिनी निर्यातमा रोक लगाएपछि चिनीको अभाव भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सुरक्षा निकायका प्रमुख एवं वाणिज्य विभागका महानिर्देशकलगायतसंग छलफलपछि उद्योगहरुबाट बजारमा चिनी आउने जानकारी गराएको थियो । त्यति मात्रै हैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुरुप अवैध ढंगले भित्रिएको र उद्योगले बजारमा नपठाएको चिनी अनुगमन गर्ने पनि छलफल भएको थियो ।
प्रधानमन्त्रीको ताकेता र अन्य विभागिय हाकिमहरुको चासो अनुरुप अहिले बजारमा प्रशस्तै चिनी पाउनु पर्ने थियो । तर, चिनीको संकट यस्तो छ । उपभोक्ता मात्रै हैन व्यवसायी पनि चिन्तित छन् । जसो तसो चिनी जम्मा पारेमा साना व्यवसायीले पनि महंगो मुल्यमा चिनेका मान्छे वा आफ्ना नियमित ग्राहकलाई मात्रै चिनी वितरण गरिरहेका छन् ।
कंलकी चोकको छेवैमा होलसेल पसल संचालन गर्दै आएका एक व्यावसायी हाकाहाकी भन्छन्, नचिनेका मान्छेलाई चिनी दिन सकिँदैन । ‘म सँग थोरै चिनी छ । नियमित ग्राहकलाई मात्रै दिन्छु ।’ उनले भने ।
तिहारमा बन्ने परिकारहरुमा चिनी अनिवार्य चाहिन्छ भन्ने ति व्यवसायीले अनुहार हेरेर चिनी दिनु आफ्नो बाध्यता हो भन्छन् । उनको पसलमा चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको छ । जबकी काठमाडौंमा नेपाल खुद्रा व्यापार संघले चिनीको मूल्य ११७ रुपैयाँँ तय गरेको छ । आफुले महंगोमा ल्याएकाले महंगोमा बिक्री गर्नु परेको ति व्यवसायीको भनाई छ ।
काठमाडौं बस्ने गोरखा घर भएकी राधिका चिनी अभावको कारण आफ्नो दैनिकी नै अपुरो अपुरो भएको अनुभव गर्छिन् । ‘चिनी त नभई हुँदै हुँदैन तर, पाइदैन ।’ राधिकाले भनिन् ।
नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष नरेश बाबु शाही चिनीको अभाव समाधान गर्ने कि अभावलाई कायम राख्ने सरकारको हातमा रहेको टिप्पणी गर्छन् । काठमाडौंमा दशैंको समयमा ९०८ बोरा चिनीले धानेको बताउँदै तिहारमा धेरै परिकार चिनीबाटै बन्ने हुँदा चिनीको व्यवस्थापन गर्न गाह्रै रहेको बताए ।
‘सरकारले हामीलाई चिनी उपलब्ध गराएको भए त हामीले जसोतसो म्यानेज गर्ने थियौं’ केटीएम भ्वाइसँग कुरा गर्दै उनले भने,‘सरकारले नै साल्ट ट्रेनिङबाट उठाएर चिनी बेच्नु भनेपछि थप समस्या सिर्जना भयो ।’
उनले खुद्रा व्यापार संघमार्फत चिनी किनेर बिक्री गर्नेले ११७ रुपैयाँ भन्दा बढि नलिएको समेत बताए । सरकारले भने पनि चिनी समयमै आउँछ भन्ने उनलाई लाग्दैन ।



















