Dhulikhel Eco Banner new

मधेशमा राष्ट्रियसभाको २ पदमा ५ जनाको उम्मेदवारी दर्ता

8.2K
shares

जनकपुरधाम, २३ पुस । मधेश प्रदेश राष्ट्रियसभा सदस्यको २ पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मधेश प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले महिला समूह तर्फ उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै एमालेबाट विजेता झा र उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनको निर्णय नमानेपछि जनमत पार्टीबाट रामशंकर महासेठले समेत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटका हुन् ।

यता एमालेले अन्यतर्फ अर्जुन सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा उनको नाम नभेटिएपछि उम्मेदवारी दर्ता हुन सकेन । उनकै स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो । एमालेको अर्का उम्मेदवार थरुनी पर्साकी हुन् ।

मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।