विदा नलिएको भन्दै खोटाङका प्रहरीलाई स्पष्टीकरण सोधिएपछि….
वि.सं.२०८० माघ ४ बिहीवार १७:०६
shares

काठमाडौं, ४ माघ । नेपालमा एउटा अनौठो घट्ना घटेको छ । जहाँ कर्मचारीले विदा नलिएको भन्दै स्पष्टीकरण सोधिएको छ । यो घटना हो जिल्ला प्रहरी कार्यालय, खोटाङको ।
जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले ६ महिनासम्म पनि विदा नलिने ५ जना प्रहरीलाई स्पष्टीकरण सोधेको हो । प्रहरी नियमावली २०७१ ले अनुसार पाउने विदाको सुविधा किन नलिएको स्पष्टीकरण सोधेको हो ।
प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने विदा पाउँछन् । ‘कारबाही गर्नका लागि स्पष्टीकरण सोधिएको होइन, विदा बस्नलाई प्रोत्साहित गर्न खाजेका हौं’, खड्काले भने, ‘घर विदा जाँदा आफन्त र परिवारसँग भेट हुन्छ, पारिवारिक तनाव पनि कम हुन्छ, त्यसो हुँदा काममा पनि प्रभावकारिता देखिन्छ भन्ने हो ।’
‘कतिपय विदा त प्रहरीले लिनै पाउँदैनन्, लामो समयसम्म काममा मात्र भइरहँदा गुणस्तरीय सेवा प्रवाहमा पनि असर गर्नसक्छ । त्यसैले विदा जान प्रात्साहन गर्न खोजेका छौं’, उनले भने ।
स्पष्टीकरणको सम्बन्धित अधिकारीहरुले जवाफ पनि दिइसकेको खड्काले बताए । ‘कतिले लामो विदा जानलाई नलिएको भन्नुभएको छ, कसैले माघमा लिने भन्नुभएको छ, कतिपयले काम नपरेकाले भन्नुभएको छ’, खड्काले भने ।
















