हिमालयन बैंकको नाफा ५७.५३ प्रतिशतले बढ्यो
वि.सं.२०८० माघ ७ आइतवार १२:५३
shares

काठमाडौं, ७ माघ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा एक अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधि तुलनामा ५७.५३ प्रतिशत अर्थात ५४ करोड ९२ लाख रुपैयाँले धेरै हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ छ । बैंकको सञ्चालन नाफा दुई अर्ब २१ करोड पुगेको छ भने इम्पेरमेन्ट चार्ज एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ४.९५ प्रतिशतमा छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ ।
चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ । बैंकको कस्ट अफ फण्ड ८।३४ प्रतिशत छ ।
पुस मसान्तसम्म दुई खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।



















