वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले अब घरबाटै एनओसी लिन सकिने
वि.सं.२०८३ वैशाख ६ आइतवार १६:५३
shares

काठमाडौं, ६ वैशाख । वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले अब घरमै बसेर वैदेशिक अध्ययन अनुमतिपत्र‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित अनुमति शाखाले सेवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र प्रत्यक्ष उपस्थितिविहीन बनाउन अनुमति अनलाइन प्रणाली र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयबीच प्रणालीगत अन्तरसम्बन्ध स्थापना गरेको जनाएको छ।
यसका लागि वैशाख ४ गते त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरिएको छ भने काठमाडौँ विश्वविद्यालयसँग यसअघि नै सम्झौता भइसकेको थियो। अब विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र प्रक्रिया पूरा भएपछि प्रमाणपत्र आफैं छापेर प्रयोग गर्न सक्नेछन्।
यसअघि आवेदन दिएपछि विवरण मिलानका लागि कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था थियो। नागरिकता विवरण गृह मन्त्रालय अन्तर्गतको नागरिक सूचना व्यवस्थापन प्रणालीमार्फत र शैक्षिक विवरण राष्ट्रिय परीक्षा बोर्डसँग सम्बन्धित प्रणालीबाट प्रमाणित हुने व्यवस्था रहेको थियो।
तर स्नातकोत्तर वा सोभन्दा माथिल्लो अध्ययनका लागि विश्वविद्यालयका प्रमाणपत्र मिलान गर्न आवेदक स्वयं उपस्थित हुनुपर्ने अवस्था थियो। अब दुवै विश्वविद्यालयसँग प्रणाली जोडिएपछि यस्तो आवश्यकता हटेको शाखाले जनाएको छ।
यसैगरी, राजस्व व्यवस्थापन प्रणालीसँग पनि सम्बन्ध जोडिएकाले शुल्क पूर्ण रूपमा अनलाइनमार्फत बुझाउन सकिने भएको छ।
स्वीकृत प्रमाणपत्र आवेदकले आफ्नै खाताबाट कागजरहित रूपमा डाउनलोड गर्न सक्नेछन्। प्रमाणपत्रमा रहेको द्रुत प्रतिक्रिया संकेत ९क्यूआर कोड० मार्फत यसको सत्यता जाँच गर्न सकिनेछ।
अनुमति शाखाका अनुसार, नयाँ व्यवस्थाले सेवा प्रक्रियालाई थप सरल, छरितो र पारदर्शी बनाउने विश्वास गरिएको छ।



















