माघमा मात्र ५ औँ पटक निक्षेप खिच्दै राष्ट्र बैंक
वि.सं.२०८० माघ १७ बुधवार १०:१३
shares

काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । आज निक्षप तानेसँगै राष्ट्र बैंकले माघमा मात्र ५ औँ पटक निक्षप तान्ने भएको हो । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षप खिच्ने भएको हो ।
राष्ट्र बैंकले मंगलबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको थियो ।
आज निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको माघ २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले माघ १६ गते २० अर्ब रुपैयाँ, माघ ९ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ३ गते ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो ।
त्यस्तै राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको थियो। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो ।


















