Dhulikhel Eco Banner new

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

4.71K
shares

काठमाडौं, १३ जेठ । मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ । घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ । यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत भएको छ ।

हरिवन नगरपालिका–४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेसकै एक उदाहरणीय महिला उद्यमी बनेको छ । जुत्ता उद्योग सञ्चालन गरेकी उनी आफूलाई अब्बल व्यवसायीका रूपमा चिनाउने कोसिसमा छन् । मधेसमा जन्मीएकी उनका लागि एउटी बुहारी भएर जुत्ता सिलाउँछु, भन्नु पक्कै सजिलो थिएन । ‘प्लस टु’ सम्म अध्ययन गरेकी निर्मलाको माइतीघर घरदेखि केही मिनेटको दूरीमा छ । बुबा शिक्षक भएका कारण उनले पढ्ने अवसर पाए । त्यसपछि गाउँ नजिकैका मध्यमवर्गीय परिवारका उमेश महतोसँग सामाजिक परम्पराअनुसार विवाह भयो । विवाहपछि पढाइलाई निरन्तरता दिन पाएन् । निर्मलाका ११ वर्षकी एक छोरी, नौ र छ वर्षका दुई छोरा छन् ।

“श्रीमान् खेतीपाती गर्थे”, उनले भने, “खेतीबाट नगद आम्दानी कम हुन्थ्यो । अन्नपात वर्षभरि खानुपर्यो । समाजमा चलेको चलनअनुसार व्यवहार धान्नै चुनौती भयो ।” अरुले बच्चा बोर्डिङ स्कुलमा पढाएको देखेर आफूलाई पनि रहर लागेर भर्ना गरेको उनको भनाइ छ । पछि ‘बिल’ आउन थालेपछि समस्या हुन थाल्यो । श्रीमान्सँग सधैँ पैसा हुँदैन थियो । त्यसपछि कसरी पैसा तिर्ने भन्ने चिन्ताले सताउन थाल्यो ।

धेरथोर पढेलेखेको भएकाले केही जागिर गरेर कमाई हुन्थ्यो कि भनेर पनि सोच्नुभयो तर त्यस्तो हुन सकेन । गाउँमा आफूले चिनेको सरले जुत्ता सिलाउने तालिम खुलेको जानकारी पाएपछि सिक्न गएका थिए । सुरुमा घरमा सम्झाउन निकै समस्या भयो । बुहारी त्यसमा पनि जुत्ता सिलाउन गई, भनेर सासूससुराले गाली गरेका छन् । तर पछि सम्झाइबुझाइ गरेपछि उनीहरूले कुरा बुझेका थिए । “तीन महिना सीप सिकेर काम सुरु गरेको थिएँ । काम गरेको साहुले पसल बन्द गरेर हिँडे, त्यसपछि फेरि अलपत्र परियो, तालिमसमेत पूरा भएको थिएन”, उनले विगत सुनाए ।

तालिम आयोजकलाई फेरि अनुरोध गरेर केही दिनका तालिम थप्न लगाए । त्यसपश्चात् आफूले भने जस्तै सबै नाप र आकारप्रकारका जुत्ता बनाउन सक्ने भए । सीप त सिकेका थिए तर काम गर्ने ठाउँ भएन । त्यसपछि निर्मला आफैँले गेल्हागाउँमै जुत्ता बनाएर बेच्न सुरु गरे ।

व्यवसायका लागि सुरुमा लगानी आवश्यक भयो । श्रीमान् खेतीकिसानी गर्ने मान्छे । सासूससुरा पहिलादेखि पेसाप्रति खुसी थिएनन् । एक लाख ऋणका लागि हारगुहार गर्दा पनि पार लागेन । माइतीका दाजुलाई भनेर ससुरालाई सम्झाइबुझाइ गरी बरु अंश दिँदा घटाइदिनु भनेर एक लाख पैसा मागिदिन अनुरोध गरे । ससुराले एक लाख २० हजार दिए । “त्यसपछि घरमै जुत्ता कारखाना सुरु गरेँ”, निर्मलाले भने, “सुरुमा गाउँमा अनेक कुरा गर्ने मानिस धेरै भए तर पछि विस्तारै आफ्नो छोराछोरीलाई सिकाइदिनुपर्यो भनेर आउने पनि निस्किए ।”

गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मलाले बनाएको जुत्ता धेरै बिक्री हुन्छ । बजार विस्तार हुँदै गएको छ । रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताए । विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएको थियो । तर निर्मलाले छ ११ महिनामै श्रीमानलाइ घर फर्काए । अहिले उनको श्रीमान् उमेश पनि निर्मलासँगै काममा खटिएको छ ।

उनले घर नजिकै रु १४ लाखमा आधुनिक उपकरणसहितको जुत्ता कारखाना सञ्चालन गरेको छ । उद्योगमा चार जना कामदारसमेत छन् । एक जनाले दैनिक ५० जोर जुत्ता तयार गर्न सक्ने उनले बताए । यसरी निर्मलाको कारखानाबाट महिनामा छ हजार जोरसम्म जुत्ता उत्पादन भई बजारमा पुग्ने गरेको छ ।

“कमाइ राम्रो हुन्छ”, उनले भने, “काम दिन सकिरहेका छैनौँ । अझै केही मेसिन किन्नुपर्ने छ, त्यो भए काम बढाउन सकिन्थ्यो । प्रयास गरिरहेको छु ।” पहिला मासिक  तीन हजार पाँच सय कमाइहुन्छ भनेर सिकेको सीपले उद्यमी बनाएको उनको भनाइ छ । यही पेसाबाट वार्षिक आठदेखि १० लाखसम्म कमाउने गरेको उनले बताएका छन् ।