यार्सा टिप्न गएकी युवतीको मृत्यु
वि.सं.२०८१ जेठ १५ मंगलवार १३:३७
shares

काठमाडौं, १५ जेठ । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ ।
डोल्पाको काइके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए । उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन्।
‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फर्किँदै गर्दा मृत्यु भएको हो,’ वडाध्यक्ष विष्टले भने, ‘शसस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।’ अहिले अस्पतालमा पोस्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोस्टमार्टमश्चात् शव गोतामकोटमा ल्याइने बताए ।

















