अर्थतन्त्र चलायमान बनाउन चेम्बरको ४३ बुँदे सुझाव
वि.सं.२०८१ साउन ८ मंगलवार ११:१८
shares

काठमाडौं, ८ असार । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्र चलायमान बनाउन सरकारलाई ४३ बुँदे सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएका हुन् ।
बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । भेटमा आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएको अध्यक्ष अग्रवालले बताए ।
चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान महत्वपूर्ण भएकाले नीतिगत सहजीकरण गरिदिनुपर्ने बताए । युवा पलायन रोक्नका लागि औद्योगिक र व्यावसायिक वातावरण बनाउनुपर्नेमा श्रेष्ठले जोड दिए ।
चेम्बर पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले उद्यमशीलता विकास र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्था सुदृढ र प्रभावकारी परिणाम दिने गरी काम सुरु भएको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको समग्र आर्थिक पक्षको मूल्यांकन गरी सरकारले नीतिगत निर्णयहरू गर्दै जाने प्रतिबद्धता जनाएको चेम्बरले उल्लेख गरेको छ ।
















