Dhulikhel Eco Banner new

सुन्तला र काँक्रामा औसा कीराको प्रकोप

10.05K
shares

काठमाडौं,२२ जेठ । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा कीराको प्रकोप देखिएको छ । सुन्तलाका स–साना दानामा कीराको सङ्क्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्रको प्राविधिक समूहले किसानका बारीमा पुगेर सुन्तलामा औसा कीराको सङ्क्रमण सुरु भएको पहिचान गरेको हो ।

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ सर्कुवाका केही किसानले व्यावसायिक रुपमा सुन्तलाको उत्पादन गर्दै आएका छन् । “किसानले सुन्तला झर्ने समस्या बताएका थिए, हामीले जाँच गरेर हेर्दा औसा कीराको सङ्क्रमण भेटाएका छौँ”, कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले भने “तत्काल उपचार गर्न सुझाएका छौंँ, समयमा बिरुवा र दानामा उपचार गरे समस्या समाधान हुन्छ ।”

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । कृषि ज्ञान केन्द्रले आवश्यक उपचारका लागि विषादी निःशुल्क उपलब्ध गराएको जनाएको छ ।

“यो समस्या जिल्लाका अन्य सुन्तला बगानमा पनि हुनसक्छ, हामी नियमित अनुगमन गछौँ”, पुनले भने, “सर्कुवाको सुन्तलाको समस्या सामाधानका लागि पुनः त्यहाँ प्राविधिकको समूह पुग्ने छ ।” मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ कार्यक्रमअन्र्तगत ज्ञान केन्द्रले साना किसान कृषि सहकारी संस्थासँग समन्वय गरेर सर्कुवामा एक दिने बाली उपचार शिविर सञ्चालन गरेको उनले जानकारी दिए ।

त्यहाँ पुगेका प्राविधिकले समस्या देखिएका बालीमा विभिन्न विधिको प्रयोग गरे जाँच तथा पहिचान गरेका थिए । सर्कुवामा किसानले लगाएको काँक्रामा पनि औसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ । मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको पुनले जानकारी दिए। कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको पुनले बताए ।

“अहिले औषतमा वर्षा भइरहेकाले फौजी कीरा फैलाउन पाएको छैन्, तर ठूला बोट भएको मकैमा कीरा लागिसकेको छ”, उनले भने “नियमित वर्षा नभए एक दुई दिनमा नै मकैको विनाश गर्छ ।” कृषि ज्ञान केन्द्रले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । गोलभेडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेका छन् ।

सर्कुवाका ३४ किसानले खेतबारीमा लगाएका नगदे, खाद्यान्न तथा फलफूलमा रोग तथा कीराको सङ्क्रमणका विषयमा प्राविधिक समूहले खोजी गरेको थियो । किसानले लगाएको बहुवर्षे केराबालीमा पनि गुबो मर्ने घुन कीराको सङ्क्रमण देखिएको ज्ञान केन्द्रले जनाएको छ । “समयमा उपचार गरे बालीमा लाग्ने रोग तथा कीराको सङ्क्रमण निदान गर्न सकिन्छ”, पुन भनछन्, “आफ्नो बालीमा समस्या देखिँदा नजिकैको कृषिसँग सम्बन्धित कार्यालय वा कृषि ज्ञान केन्द्रमा खबर गर्न भनिरहेका छौँ ।”