एभरेष्ट बैंकको खुद नाफा २१.११ प्रतिशत बढ्यो
वि.सं.२०८१ माघ ७ सोमवार १०:५५
shares

काठमाडौं, ७ माघ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
१२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१२ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको छ।
बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशत बढेको छ।

















