मल तत्काल उपलब्ध गराउन संसदहरुको माग
वि.सं.२०७९ जेठ ३० सोमवार १५:३७
shares

काठमाडौँ, ३० जेठ । मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाएका छन् ।
प्रमुख प्रतिपक्षल दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेका छन् भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताएका छन् ।
मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरुको जोड छ । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको विषयको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले मुलुकलाई चाहिले चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गरे ।
मलको हाहाकार भएकाले सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको उल्लेख गर्दै सांसद अधिकारीले भने, “हामीलाई मल आजै चाहियो किसानलाई खेतमा हाल्न अहिल्यै चाहियो ।”
उनले मुलुकमा १० लाख मेट्रिकटन धान अभाव रहेको, विश्वका कतिपय मुलुकले निर्यातमा रोक लगाइसकेका बेला अब नेपालले किन्नसमेत पाउने अवस्था नरहेपछि धान, चामल किन्न कहाँ जाने भन्दै प्रश्न गरे । उनले समयमै मलखाद दिन सकेनौँ भने उत्पादकत्व घट्ने र मुलुक ठूलो खाद्यान्न अभावमा पर्ने देखिएको बताए ।
प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले मल समयमा किसानले पाउनुपर्नेमा जोड दिँदै विगतमा अनियमितताको आशङ्कामा अख्तियारले पत्र काटेकाले कृषि सामग्री संस्थानले टेण्डर रद्द गरेको बताए ।
अर्का सदस्य पार्वती डिसी चौधरीले किसानले समयमा मल पाएन भने उनका परिवार समस्यामा पर्ने हुँदा उनीहरुलाई मल दिनुपर्नेमा जोड दिए ।














