बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र
वि.सं.२०८१ चैत २८ बिहीवार १३:११
shares

काठमाडौं, २८ चैत । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्राडा विजयप्रसाद मिश्रको प्यानल विजयी भएको छ। मिश्रको प्यानलले नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको समर्थनमा लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी र समावेशी कानुन व्यवसायी समूहको रुपमा क्लिनस्विप गरेको हो।
अध्यक्ष पदमा मिश्रले प्रतिद्वन्द्वी, नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।
महासचिवको रुपमा मिश्र प्यानलकै केदारप्रसाद कोइरालाले श्रेष्ठ प्यानलका राष्ट्रिय स्वतन्त्र पार्टी नजिकका कानुन व्यवसायी यज्ञमणि न्यौपानेलाई हराउँदै विजय प्राप्त गरेका छन्।
मिश्र प्यानलबाट उपाध्यक्षका उम्मेदवारहरूमा कोशी क्षेत्रबाट पदमप्रसाद लिम्बु, मधेस क्षेत्रबाट अजयशंकर झा, बागमती क्षेत्रबाट तेजबहादुर रावल, गण्डकी क्षेत्रबाट भूपेन्द्र खनाल, लुम्बिनी क्षेत्रबाट कृष्णप्रसाद पोखरेल, कर्णाली क्षेत्रबाट विवशकुमार बस्नेत, सुदूरपश्चिम क्षेत्रबाट सिद्धराज ओझा र महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भएका छन्।
मतगणना सकिएपछि दिउँसो १ बजे एक विशेष कार्यक्रममा अन्तिम नतिजा सार्वजनिक गर्दै मिश्र प्यानललाई विजयी घोषणा गरिनेछ। शनिबार सम्पन्न उक्त निर्वाचनमा कुल ७,९९५ मत खसेको थियो।

















