दुर्गा प्रसाईंलाई शुक्रवार काठमाडौं ल्याइँदै
वि.सं.२०८१ चैत २९ शुक्रवार १०:३९
shares

काठमाडौं, २९ चैत । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई शुक्रवार काठमाडौं ल्याइँदै छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ ।
तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको थियो ।
प्रसाईंलाई शुक्रवार आसामको गुवाहिटी हुँदै झापा ल्याउने र त्यहाँबाट काठमाडौं ल्याउने तयारी छ । झापाको काँकडभिट्टास्थित सीमा क्षेत्रमा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरु समेत कुरेर बसिरहेका छन् ।
प्रहरीले भने विहीबार विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो । प्रसाईंको सचिवालयले भने उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेको छ ।
प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत पसेका थिए । प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने छ ।



















