बैंक तथा वित्तीय संस्थामा निक्षेप ३ खर्ब ६८ अर्बले बढ्यो, निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा पनि उल्लेख्य वृद्धि
वि.सं.२०८२ वैशाख २८ आइतवार १७:३५
shares

काठमाडौं, २८ वैशाख । चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँले वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वृद्धि ५.७ प्रतिशतको दरले भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ७.२ प्रतिशतले अर्थात् ४ खर्ब ९ अर्ब ४ करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ११.५ प्रतिशतले वृद्धि भएको देखिन्छ। चैत मसान्तसम्म कुल निक्षेपमा चल्ती खाताको अंश ५.७ प्रतिशत, बचत खाताको अंश ३५.८ प्रतिशत र मुद्दती खाताको अंश ५१.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष क्रमशः ५.२, ९.१ र ५८.९ प्रतिशत थियो।
संस्थागत निक्षेपको हिस्सा ३५.४ प्रतिशत कायम भएको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँले वृद्धि भई ७.१ प्रतिशतको दरले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धि ४.६ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ थियो। वार्षिक आधारमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह ८.३ प्रतिशतले बढेको देखिएको छ।
कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रमा ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा ३६.६ प्रतिशत कर्जा प्रवाहित भएको छ । वाणिज्य बैंकहरूको कर्जा ७.४ प्रतिशत, विकास बैंकहरूको ४.६ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ६.४ प्रतिशतले वृद्धि भएको छ। चालु सम्पत्तिको आधारमा प्रवाहित कर्जा १४.६ प्रतिशत र घरजग्गा धितोमा आधारित कर्जा ६५.२ प्रतिशत रहेको छ ।
कर्जा प्रवाह क्षेत्रगत रूपमा हेर्दा औद्योगिक उत्पादन क्षेत्रमा ९.६ प्रतिशत, निर्माण क्षेत्रमा ११.४ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १०.२ प्रतिशत, सेवा उद्योगमा ८.६ प्रतिशत र उपभोग्य क्षेत्रमा ८.३ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको छ। कर्जाको स्वरूप अनुसार ट्रष्ट रिसिट कर्जा ६०.६ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशत, नगद प्रवाह कर्जा ५.२ प्रतिशत, आवधिक कर्जा र रियल स्टेट कर्जा समान रूपमा ४.९ प्रतिशत, हायर पर्चेज कर्जा ४।१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.१ प्रतिशतले घटेको छ।


















