Dhulikhel Eco Banner new

कर विवरण नबुझाउने करिब १ लाख करदाता निलम्बनमा, आयात–निर्यात पनि रोक्का गर्न राजस्व विभागको निर्देशन

3.07K
shares

काठमाडौं, १२ जेठ । आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण लगातार ६ महिनासम्म नबुझाउने करिब १ लाख करदातालाई निलम्बन गरेको छ। विभागले ९ जेठ २०८२ मा गरेको निर्णयअनुसार ९५ हजार ३४९ करदाताको भ्याट दर्ता निलम्बन गरिएको हो।

विभागले निलम्बनमा परेका करदातासँग कुनै पनि खरिद–बिक्री कारोबार नगर्न समेत आग्रह गर्दै चेतावनी दिएको छ। साथै, यस्ता करदाताको नाम, स्थायी लेखा नम्बर र विवरण विभागको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

भ्याट ऐन, २०५२ को दफा १७ को उपदफा ९९ख० अनुसार, ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको दर्ता निलम्बन गर्न सकिने प्रावधानअनुसार यो कारबाही गरिएको हो। साथै, भन्सार विभागलाई ती करदाताको आयात तथा निर्यात कारोबार समेत रोक्का गर्न पत्राचार गरिएको विभागले जनाएको छ।

यसअघि आन्तरिक राजस्व विभागले ११ वैशाख २०८२ मा सूचना जारी गर्दै कर विवरण अद्यावधिक गर्न १५ दिनको समय दिइएको थियो। तर तोकिएको म्याद ९७ जेठ २०८२० भित्र विवरण नपेस गरेपछि कडा कदम चालिएको हो।

विभागको सूचनाअनुसार, “सूचनामा तोकिएको म्यादभित्र कर विवरण नबुझाएका करदाताहरुको कर कट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको छ।”

राजस्व प्रशासनलाई पारदर्शी, उत्तरदायी र अनुशासित बनाउने उद्देश्यले विभागले यस्तो कारबाही थालेको जनाएको छ। विभागले व्यापारी तथा व्यवसायीहरुलाई समयमा कर विवरण बुझाउन आग्रह गर्दै पुनः कारोबार नियमित गर्न कर कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ।