Dhulikhel Eco Banner new

शेयर धितो कर्जामा शतप्रतिशत जोखिम भारको व्यवस्था लागू

3.22K
shares

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले हालै संशोधित एकीकृत निर्देशन, २०८१ अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ सर्कुलर जारी गरेको छ। यस सर्कुलरमार्फत मौद्रिक व्यवस्थापनलाई अझ सुदृढ बनाउने उद्देश्यले केही महत्वपूर्ण व्यवस्था कार्यान्वयनमा ल्याइएका छन्।

केन्द्रीय बैंकले अबदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य मौज्दात राष्ट्र बैंकमा राख्नुपर्ने स्पष्ट पारेको छ। नयाँ निर्देशिका अनुसार जेठ १८ गतेदेखि लागू हुने गरी अनिवार्य मौज्दातको कम्तीमा ९० प्रतिशत रकम दैनिक रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि वित्तीय संस्थाले अनिवार्य मौज्दातको ७० प्रतिशत रकम मात्र दैनिक रूपमा राख्नुपर्ने व्यवस्था रहेको थियो। राष्ट्र बैंकको यो कदमले तरलता व्यवस्थापनमा थप अनुशासन ल्याउने विश्वास गरिएको छ।

त्यस्तै, राष्ट्र बैंकले सबै प्रकारका शेयर धितो कर्जाहरुमा १०० प्रतिशत जोखिम भार कायम गर्ने व्यवस्था पनि सर्कुलरमार्फत स्पष्ट पारेको छ। यसअन्तर्गत बैंकहरुले शेयर धितो कर्जालाई कर्जा जोखिमको मूल्यांकन गर्दा पूरै कर्जालाई जोखिमयुक्त ठान्नुपर्नेछ, जसले कर्जा प्रवाह र पूँजी पर्याप्तताको गणनामा प्रत्यक्ष प्रभाव पार्नेछ।